
भक्तपुर अस्पताल अगाडि सञ्चालित भैरव फार्मेसी शिलबन्दी गरिएको छ । भक्तपुर नगरपालिकाले आज गरेको फार्मेसी अनुगमनका क्रममा भक्तपुर नगरपालिका–१ दूधपाटीमा सञ्चालित भैरव फार्मेसीमा औषधि व्यवसायी नबसी अन्य व्यक्तिलाई पसल सञ्चालन गर्न दिई औषधिमा लापरवाही गरेको पाइएपछि शिलबन्दी गरिएको हो ।अनुगमनमा भनपा वडा नं १ दूधपाटीमा अवस्थित भैरव फार्मेसीको नाममा दर्ता भएको औषधि पसल व्यवसायी अनुपस्थित रहेको साथै विभिन्न नामका औषधिहरु रेफ्रिरेजेटर बाहिर कोठाको तापक्रममा राखिएको पाइएको अनुगमन समितिका संयोजक राजकृष्ण गोराले जानकारी दिए । उक्त फार्मेसीमा लागुऔषधबाहेकका अन्य औषधि बट्टामा नराखेको पाइएपछि शिलबन्दी गरिएको अनुगमन निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए । औषधि विभागका फार्मेसी अधिकृत मुकेन्द्र पञ्जियार, फार्मेसी अधिकृत उमङ्ग त्रिपाठी, फार्मेसी अधिकृत सुरेन्द्र बोहरा, फार्मेसी सुपरभाइजर भीष्म सापकोटाको रोहबरमा पसल शिलबन्दी गरिएको उनले जानकारी दिए ।