
१५ मंसिर, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार ललितपुरमा नयाँ जोडिएका सडक बत्तीहरुको उद्घाटन गर्दै देशमा काम गर्ने वातावरण नै नभएको मात्रै बताएनन्, सरकारी निकायबीचकै समन्वयको अभाव र असहयोगी प्रवृत्तिप्रति आक्रोश नै पोखे ।
कुलमानले विद्युत प्राधिकरणको कार्यसम्पादनसँग जोडिएका निकायहरुको असमन्वयबारे गरेको गुनासो एउटा दृष्टान्तमात्रै हो । पछिल्लो समयमा सरकारी निकायबीच आवश्यक समन्वय नै नहुने समस्या झन चर्किंदै गएको छ । आयोजनाहरु कार्यान्वयनदेखि सरकारी योजना कार्यक्रमहरु लागु गर्ने क्रममा अन्तरनिकाय सम्वाद नै नहुने समस्या कायमै छ । तर, सरकारका निकायहरुबीच आ–आफ्ना स्वार्थले समन्वय हुँदा हुँदै पनि असहयोग गर्ने प्रवृत्ति पनि मौलाउन थालेको छ । अर्को कुनै निकायले जस पाउने गरी काम गर्दा आफ्नो निकायले हेर्ने पूर्वाधारहरुले क्षति ब्यहोर्नुपर्ने अवस्था नस्वीकार्ने भन्दै सरकारी अधिकारीहरु एकले अर्कोलाई काममै निषेध गर्ने तहसम्म पुग्न थालेका छन् ।