मंसिर १३ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा प्रभावशाली जित निकाल्दै म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी पाँचमा छोट्याएको छ । अवे मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई ४–२ ले हराएको हो । म्यानचेस्टर युनाइटेडको जितमा एस्ली योङले दुई तथा एन्थोनी मार्सल र जेसी लिङगार्डले एक एक गोल गरे ।
वाट्फोर्डका लागि डिनी र डोउकोउरीले एक एक गोल फर्काए । १९ र २५ औं मिनेटमा योङ तथा ३२ औं मिनेटमा मार्सलले गोल गर्दै पहिलो हाफमा नै म्यानचेस्टर युनाइटेडलाई ३–० को अग्रता दिलाए ।
यो अग्रता ७७ औं मिनेटसम्म कायम रह्यो । डिनीले ७७ औं मिनेटमा पाएको पेनाल्टी मार्फत वाट्फोर्डका लागि एक गोल फर्काए । ८४ औं मिनेटमा डोउकोउरीले वाट्फोर्डका लागि अर्को गोल गरे ।
८६ औं मिनेटमा लिंगार्डले गोल गरेपछि युनाइटेडले ४–२ को जित निकालेको हो । जितपछि म्यानचेस्टर युनाइटेडको १४ खेलबाट ३२ अंक भएको छ । एक खेल कम खेलको शीर्ष स्थानको म्यानचेस्टर सिटीको ३७ अंक छ ।