बीचैमा छोड्नु मेरो धर्म र नैतिकता होइन : जीवनबहादुर शाही

In राजनीति
३ पुष २०७८, शनिबार १२:२६

कर्णालीका मुख्यमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता जीवनबहादुर शाही पार्टी भित्रको आन्तरिक चुनावमा पराजित हुन पुगेका छन् । शुक्रबार पिछडिएको क्षेत्रबाट सहमहामन्त्री पदको मतगणना हुन केही समयअघि मात्रै टेलिभिजनसँगको अन्तरवार्तामा आफू जित्नेमा ढुक्क भएको बताएका थिए । ‘बुढानीलकण्ठबाट म सर्वसम्मत भइसकेको मान्छे हुँ । म निर्विरोध हुँ,’ उनले भनेका थिए । तर, सह–महामन्त्रीको अन्तिम मत परिणाम सार्वजनिक हुँदा भने उनको दाबीले फेल खायो । उनी सह–महामन्त्रीमा शेखर कोइराला प्यानलका बद्री पाण्डेसँग हार्न पुगे । सभापति शेरबहादुर देउवा समूहका शाहीले पाण्डेसँग २७८ मतले पराजय बेहोरेका हुन् ।
उनी पराजित भएसँगै सामाजिक सञ्जालमा उनले ‘रक्षामन्त्री मिनेन्द्र रिजालले जस्तै नैतिकता प्रदर्शन गर्छन् या गर्दैनन् ?’ भनेर प्रश्न उठ्न थाल्यो । डा. रिजालले चौधौँ महाधिवेशनमा महामन्त्री पदमा पराजित भएपछि रक्षामन्त्रीबाट राजीनामा दिएका थिए । रिजालले राजनीतिमा बिरलै देखिने नैतिकता देखाएको भन्दै उनको प्रशंसा भइरहेको छ । मुख्यमन्त्री शाही पनि आफूभन्दा जुनियरसँग सहमहामन्त्रीमा पराजित भएपछि के गर्लान् भन्ने सबैले चासोका साथ हेरेका थिए । उनी उच्च ओहोदामा रहेर काँग्रेसभित्र चुनाव हार्ने दोस्रो ठुलो नेता हुन् । तर मुख्यमन्त्री शाही मुख्यमन्त्री पदबाट राजीनामा नदिने पक्षमा रहेको स्पष्ट पारेका छन् । उनले शनिबार बिहानै एक सूचना जारी गर्दै कसम खाँदै आफूप्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने बताएका छन् । उनले भनेका छन्,‘ तपाईंहरूको म प्रतिको माया, स्नेह, साथ, सहयोग, समर्थन र शुभेच्छाको म सदैव ऋणी रहिरहनेछु र तपाईंहरूको म प्रतिको विश्वासलाई जाँतोमा पिल्सिन नदिने कसम खाँदै मेरा जीवनबूटीलाई धोका दिएर बीचैमा छोड्नु मेरो धर्म र नैतिकता होइन ।’