लमजुङमा खुला पुरुष मिनी म्याराथुन प्रतियोगिता हुने…

In खेलकुद
५ मंसिर २०७८, आईतवार १३:४८

जिल्ला खेलकुद विकास समिति लमजुङले मंसिर १८ गते खुला पुरुष मिनी म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ। सुन्दरबजार नगरपालिका– ९ भोटेओडारमा म्याराथन प्रतियोगिता सञ्चालन गरिने आयोजक जिल्ला खेलकुद विकास समिति लमजुङले जनाएको छ। उक्त प्रतियोगिताबारे शनिबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी जानकारी गराइएको हो।
खेलको माध्यमबाट युवाहरूको शारीरिक, मानसिक र संवेगात्मक विकास गरी राष्ट्रप्रति जिम्मेवार बनाउने लक्ष्यका साथ मिनी म्याराथुन प्रतियोगिता गर्न लागिएको समितिका अध्यक्ष योगबहादुर गुरुङले बताए। उनका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई ४४ हजार चार सय ४४ रुपैयाँ, दोस्रो हुनेलाई २२ हजार दुई सय २२ रुपैयाँ, तेस्रो हुनेलाई ११ हजार एक सय ११ रुपैयाँ र सान्त्वना हुने दुईजनालाई प्रतिव्यक्ति पाँच हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरिनेछ।
उनका अनुसार जिल्ला खेलकुद विकास समिति लमजुङले पहिलोपटक म्याराथन प्रतियोगिताको आयोजना गरेको हो। बेंसीसहर नगरपालिकाको प्रवेशद्वार गेटदेखि भोटेओडार, सिउँडीबार, लमजुङ क्याम्पस गेट, पाउँदी हुँदै भोटेओडार बगैँचासम्म करिब १५ किलोमिटर दूरीको प्रतियोगिता हुने आयोजकले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले ४५ हजार रुपैयाँ बजेट पठाएको छ भने बाँकी बजेट जिल्ला समिति आफैँले व्यवस्थापन गर्दै छ।