557 views 4 secs 0 comments

धनुषा-३ : दुई हेभिवेटका लागि टर्निङ पोइन्ट

In देश, राजनीति, समाज
१३ मंसिर २०७४, बुधबार ०८:०३

 

जनकपुरधाम : दुई हेभिवेट नेताकै राजनीतिक भविष्यको टर्निङ पोइन्ट हुन सक्छ, धनुषा ३ को यसपटकको प्रतिनिधिसभा चुनावको परिणाम। विमलेन्द्र निधिले १८ वर्षअघि पनि चुनाव हारेका थिए। तर ६२ वर्षको उमेरमा यसपालि हारे उनको राजनीतिक ‘करिअर’ मा ठूलो ‘सेटव्याक’ हुने अनुमान विश्लेषकहरु गर्छन्। अर्कोतिर राजेन्द्र महतोले पनि दोस्रो संविधानसभा चुनाव (२०७०) मा आफ्नै घर भएको क्षेत्रमा हारेका थिए। त्यसपछि २ वर्षअघिको मधेस आन्दोलनमा सक्रिय भएर उनले मधेसमा एकचोटि आफूलाई उचाइमा पुर्‍याएका थिए। चुनाव हारे राजपाको अध्यक्षमण्डलबाट अध्यक्ष हुने उनको दाबेदारीलाई कमजोर बनाउने अनुमान जानकारहरु गर्छन्। जित्दा कांग्रेसका हेभिवेटलाई उनकै गृहनगरमा बाहिरिया भएर जित्दा राजपाका साथै राष्ट्रिय राजनीतिमा उनी ‘हेभिवेट’ सावित हुनेछन्।

केही दिनअघि जनकपुर ३ को मत बुझ्ने प्रयास गरेका पूर्वअर्थसचिव रामेश्वर खनालले यहाँको मत अनिर्णीत पाएका थिए। दुई घन्टा पैदल हिँडेर कुराकानी गर्दा मतदाताले कसलाई भोट हाल्ने निर्णय गरिनसकेको बताएका थिए। हुँदाहुँदा कांग्रेसकै कार्यक्रममा झन्डा बोकेका व्यक्तिले समेत भोट कसलाई हाल्ने निर्णय अघिल्लो दिन (२० गते ) गर्ने बताएका थिए।

बुद्धिजीवी सुरेन्द्र लाभका अनुसार पनि जनमत अनिर्णीत छ, यसैले तस्बिर अस्पष्ट छ। ‘चुनावको दुई दिनअघि स्पष्ट चित्र देखिएला’, उनी भन्छन्। उनका अनुसार, अन्तिम समयमा जातीय समाजले पनि कसलाई भोट हाल्ने भनेर निर्णय गर्नेछन्। ‘समाजले भन्दैमा शतप्रतिशत भोट पर्ने होइन तैपनि माहोल बनाउन त्यसले सघाउने छ’, उनी भन्छन्-‘धनुषा ३ मा मैथिल ब्राह्मण र स्थानीय भाषामा साहुजी भनिने सुडी, कलवार र तेली समाजले जसलाई चाह्यो उसले चुनाव जित्ने अवस्था छ।’

देशमै १ लाखभन्दा बढी मधेसी ब्राह्मण रहेकोमा २४ हजारभन्दा बढी त यसै क्षेत्रमा छन्। उल्लेख्य संख्यामा रहेका साहुजी जनकपुरका वास्तविक साहुजी पनि हुन्। यहाँको व्यापारमा यिनकै वर्चस्व छ। पैसा, बुद्धिका साथै भोटको संख्या पनि उल्लेख्य भएकाले दुई जातले समर्थन गर्दा अरूले आसै गर्न नपर्ने अवस्था बनेको हो, लाभ टिप्पणी गर्छन्।

यस्तै कारणले जनकपुर सहर पर्ने क्षेत्रबाट २०५६ सालमा चुनाव हारेपछि निधिले आफ्नो पुस्तैनी घर पर्ने क्षेत्र रोजेका थिए। २०५१ सालको मध्यावधि चुनावमा निधि सहरसमेत पर्ने क्षेत्रबाटै जितेका थिए, २०४८ सालमा उनका बुवा महेन्द्रनारायण निधिले जितेका थिए। यसपालि उनको पुस्तैनी घर नगराइन नगरपालिकासमेत सहर पर्ने क्षेत्रमा जोडिएपछि उनले सहरवासीसँग भोट माग्न आउनुपरेको छ।

महतो यहाँ चुनाव लड्न आउने कारण पनि दुइटै जातको कारणले हो। ब्राह्मण निधिसँग असन्तुष्ट छन्। अर्को महतो आफैं साहुजी (सुडी) हुन्। आफ्नै घर भएको क्षेत्र (सर्लाही २) मा राजपा अध्यक्ष मण्डलकै अर्का नेता महेन्द्र यादवको पनि क्षेत्र हो।

यादव र गैरयादव धु्रवीकरण हुने भएकाले उनले विकल्प खोज्नै पर्ने थियो। धनुषा ३ मा सम्भावना देखेकैले उनले रोजेका हुन्। यसैले महतो ढुक्क देखिन्छन्। ‘चुनाव जित्ने कुरामा त शंकै छैन्’, उनले अन्नपूर्णसँग भने, कति ठूलो मतान्तरले भन्नेमात्र हो। महतोलाई यस क्षेत्रका निलम्बित निर्वतमान सांसद संजय साहको पक्षले असहयोग गरेको अवस्था छ। साह दुईपटक संविधान सभाको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भएका थिए। तर, उनी जनकपुर बमकाण्डमा आरोपी ठहरिएपछि हाल जेलमा छन्।

साह मधेसवादी दलबाटै निर्वाचित भएपनि उनलाई बमकाण्डमा मुछिदा महतोले सहयोग नगरेको रिस छ। महतोले उनकी श्रीमति रंगिला देवी साहलाई स्थानीय तहमा वा यस चुनावमा टिकट दिँदै आएको कुरा उनका करिबीहरू बताउँछन्। तर, महतोले रंगिलालाई कहिं पनि स्थान नदिएपछि सञ्जय झनै रुष्ट भएका हुन्।
अहिले सञ्जयले महतोविरुद्ध विभिन्न जातिवादी नारा दिएर उनलाई हराउन जेलबाटै लागि परेका छन्।

सञ्जय दुईपटक साहुजी भोटका कारण पनि विजयी भएको हुनाले यो निर्वाचनमा निधिलाई सहयोग गर्ने भएपछि निधि पक्षधरले कम्तीमा पनि हजार भोट उनको सेन्टिमेन्टले तानिने आशा गरेका छन्। अस्वस्थ भएपछि उपचार गर्न राजधानी गएका निधि फर्किएका छैनन। उनका समर्थक सुनिल झाका अनुसार राजपाले हल्ला फैलाएझैं ब्राह्मण मतदाता रिसाएको कुरामा सत्यता छैन। जनकपुर सहरबाहिरका मतदातामा निधिप्रति गुनासो छैन। सहरका मतदाता पनि क्रमशः निधिको समर्थनमा जुट्दै गएका छन्।

प्रजातन्त्र मासेर पञ्चायत लागू गर्ने राजा महेन्द्रमाथि जनकपुरमै बम प्रहार भएको थियो , २०१८ सालमै। सरोज कोइराला, बोध उपाध्यायले कांग्रेसलाई मजबुत बनाएको ठाउँ हो, जनकपुर। तैपनि पञ्चायतका दुवै प्रत्यक्ष चुनाव (२०३८÷२०४३) मा धनुषाबाट हेमबहादुर मल्ला विजयी भए। २०४३ मा त हेमबहादुर मल्लकी श्रीमती शारदा मल्ल पनि जितिन्।

२०४६ सालको जनआन्दोलनमा सहर आन्दोलनको पक्षमा उभियो। २०४८ सालमा कांग्रेसलाई विश्वास गर्‍यो। तर, एक वर्षपछि भएको स्थानीय चुनावमा कांग्रेसका बागीलाई मेयर, उपमेयरको फूलमाला लगाईयो।

मध्यावधी चुनाव (२०५१) मा पनि कांग्रेसनै जित्यो। २०५६ को स्थानीय चुनावमा फेरी बागी उम्मेदवारलाई जितायो। बुद्धिजीवि सुरेन्द्र लाभका अनुसार धर्म, सांस्कृतिक मूल्य मान्यतामा विश्वास गर्ने भएकाले जनकपुर आफैंमा यथास्थितिवादी चरित्रको सहर हो। तर, असन्तोष, कुण्ठा भएकाले सहरले विद्रोही चरित्र पनि देखाउँछ। मधेसीप्रति विभेदको गुनासो यहि सहरले सुरु गरेको थियो।

मधेस आन्दोलनको केन्द्रमा रह्यो। तर, यहि सहरको भोटले २०५६ को आमचुनावमा विमलेन्द्र निधिलाई हराएर राप्रपाका कृष्णप्रताप मल्ललाई जिताएको थियो। त्यत्तिबेला निधिलाई देखाइदिने निष्कर्शमा पुगेको समूहले रामराजाप्रसाद सिंहलाई बोलाएर निधिविरुद्ध उभ्यायो। तर, रामराजा कमजोर देखिएपछि अन्तिम समयमा कृष्णप्रतापलाई भोट हालेर देखाइदियो, लाभ भन्छन्।