551 views 0 secs 0 comments

किन खस्यो बैतडीमा कम मत ?

In देश, राजनीति, समाज
११ मंसिर २०७४, सोमबार १५:५१

बैतडी, मंसिर १०– आइतबार बैतडीमा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनावमा ५८ प्रतिशत मत खस्यो । यो स्थानीय तहको चुनावको भन्दा १४ प्रतिशत कम हो । बैतडीमा समग्र जिल्लाको परिणाम हर्ने हो भने स्थानीय तहको जस्तो उत्साह पनि नागरिकमा भेटिएन ।

१ सय ८२ वटा मतदान रहेको बैतडीमा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भयो । अहिले सबै ठाउँका मतपेटिका ल्याएर दशरथचन्द नगरपालिकाको हलमा भण्डारण गरिएको छ । मतपेटिकाको सुरक्षाका लागि सुरक्षा व्यवस्था कडा पारेको मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले बताउनुभयो ।

गाउँघरमा युवा नभएका कारण यो चुनावमा स्थानीय तहको जस्तो उल्लास नभएको जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद फुयालले बताउनुभयो । बैतडी जिल्लामा हिउँदको समयमा नागरिक रोजगारीका लागि भारत जाने गर्दछन् ।

भारतसँगको सीमाना नजिकै भएका कारण बैतडीका युवाहरु कामको सिलसिलामा पिथौरागढ, दिल्ली, मुम्बई जाने गर्दछन् । बैतडीका युवा खेती लगाएपछि ६ महिना भारत जाने र बाली भित्र्याउने बेलामा ६ महिना नेपाल आउने गर्दछन् । हिउँदको समयमा खेत खनजोत गरेर गहुँ छरिसकेपछि रोजगारका लागि अधिकांश युवा भारत जाने गर्दछन् । बैतडीमा पुरुष मात्रै नभएर महिला पनि भारत जाने गर्दछन् । त्यसैले पनि चुनावमा उत्साह नदेखिएको हो ।

स्थानीय तहमा आफ्नै गाउँको मान्छे उम्मेदवार भएर पनि मानिसको उत्साह बढी देखिएको हुन सक्ने जगन्नाथ बहुमुखी क्याम्पसका उप–प्राध्यापक सुरेन्द्र बमले बताउनुभयो । स्थानीय तहको चुनावमा सबै वडाबाट प्रतिनिधि उठेकाले आ–आफ्ना मान्छेलाइ कसरी जिताउने भन्ने नागरिकमा उत्साह जागेको भए पनि अहिले प्रतिनिधि तथा प्रदेशसभाको लागि नागरिकले कम उत्साह देखाएको हुनसक्ने बमले बताउनुभयो ।

स्थानीय तहको चुनावमा अशक्त, अपांग रहेका व्यक्तिलाई पनि घोडामा बोकेर अथवा मान्छेले नै बोकेर भए पनि भोट हालेकोले चुनावमा त्यस्तो दृष्य नदेखेको चुनावमा खटिनुभएका सहायक मतदान अधिकृत निर्मला खनालले बताउनुभयो ।

नेताहरुले भाषण मात्रै गर्ने र बोलेको कुरा पूरा नगर्ने कारणले पनि नागरिक दिक्क भइसकेका छन् । त्यसैले स्थानीय चुनावलाई उत्सवका रुपमा लिएका उनीहरुलाई पछिल्लो समयमा भोट हाल्न इच्छा जागेको पनि पाइँदैन । गाउँघरमा आएर जनताले नदेखेका सपना पनि उम्मेदवारले देखाउने र पछि फर्केर नहेर्ने प्रवृत्तिले पनि नेताहरुप्रति नागरिकको विश्वास घट्दै गएको छ ।

स्थानीय तहको चुनाव भएको ६ महिना भइसक्यो, अहिलेसम्म गाउँघरमा नेताहरुले सिन्को पनि नभाँचेकाले नेताहरुको भरोसा नभएको बताउनुहुन्छ बैतडीको सर्नया गाउँपालिकाकी मञ्जु भट्ट । स्थानीय तहमा जनप्रतिनिधि पाइसकेपछि विकास हुने आशा राखेका बैतडीका नागरिक ६ महिनासम्म पनि कुनै काम नहुँदा शंका गर्न थालेका छन् ।

स्थानीय तहमा जनप्रतिनिधि पाउँदा सिहंदरबारका सेवा गाउँमै पाइन्छ भन्ने गरेका जनप्रतिनिधिले आफूहरुलाई कुनै सुविधा नभएको भौनेलीका पवित्रा भट्टले बताउनुभयो ।