दाङ, मंसिर १४ – म्यादी प्रहरीको कमाईबाट आउने पैसाले कुखुरा फार्म खोल्ने र त्यसको आम्दानीले छोरीलाई राम्रो स्कुल पढाउने तुल्सीपुरका बिनोद चौधरीको सपना कहिल्यै पूरा हुन पाएन । कुखुरा फार्म खोलेर आत्मनिर्भर बन्ने र त्यसको कमाईबाट परिवार पाल्नुका साथै डेढ वर्षीया छोरीलाई राम्रै विद्यालयमा पढाउने बिनोदको सपना बमले चकनाचुर बनाएको हो ।
पैसाकै जोहो लगाउन दोस्रो पटक पनि म्यादी प्रहरीमा भर्ना भएका बिनोदको तुल्सीपुरमा भएको बम बिष्फोटमा परेर ज्यान गयो । असारमा भएको स्थानीय चुनावमा म्यादी प्रहरीमा भर्ना भएका तुलसीपुर उपमहानगरपालिका वडा नं १२ क्वाङ्गीका बिनोद प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि फेरि म्यादीमा भर्ना भएर तुलसीपुरमै खटिनुभएको थियो ।
मंगलबार प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा तुलसीपुर आउँदा उहाँ सुरक्षामा खटिनुभएको थियो । कांग्रेसले तुलसीपुरको अरनिको मैदानमा चुनावी सभा आयोजना गरेको थियो ।
दिउँसो साढे ३ बजेतिर प्रधानमन्त्री चुनाव सभास्थलमा प्रवेश गर्दै गर्दा मोटरसाइकलमा रहेका अपरिचित व्यक्तिले बम फालेर भागे । त्यही बम विस्फोट हुँदा २३ बर्षीय विनोद चौधरी सहित आठ जना घाइते भए । बिनोदको उपचारका क्रममा बुधबार कोहलपुर मेडिकल कलेजमा ज्यान गयो ।
बिनोदले व्यवस्थापन संकायबाट कक्षा १२ पास गर्नुभएको थियो । झण्डै चार वर्ष स्थानीय बोर्डिङ स्कुल र गाउँकै प्रावि स्कुलमा पढाएर १२ कक्षा पासका गरेका बिनोदले पारिवारिक बाध्यताका कारण त्यसपछि पढ्न पाउनुभएन ।
तीन वर्षअघि मात्रै घोराहीको वन घुस्रीबाट विनोदले अञ्जना चौधरीसँग मागी विवाह गर्नुभएको थियो । उनीहरुको डेढ बर्षीया छोरी प्रमिसा छन् ।
बिनोद भन्दा माथिका दाजु जीतबहादुर चौधरी नेपाल प्रहरीका जागिरे हुनुहुन्छ र कान्छा भाई अविवाहित छन् । परिवारमा अलि पढेलेखेका बिनोदकै काँधमा घर परपरिवारको बोझ थियो ।
‘बृद्ध बावुआमाको उपचार गर्नुथियो, सानी छोरीलाई राम्रो स्कुलमा पढाउनु थियो र बेरोजगार भाइलाई विदेश पठाउने सपना पनि बिनोदमा थियो,’ बिनोदका ३२ वर्षीय दाजु तेजबहादुरले भन्नुभयोे ‘त्यसैले बिनोद दोस्रो पटक म्यादीमा भर्ना भएको हो ।’
बिनोदका ६८ वर्षीय बुवा खुसीराम चौधरीले जमिन्दारको दुई बिघा जति जग्गा जोतेर परिवार पाल्दै आएको बताउनु हुन्छ । ‘अरुको जग्गा जोतेर अँधियावापत आउने धानले परिवार पाल्दै आएको थिएँ,’– खुसीरामले गहभरी आँसु झार्दै भन्नुभयो ‘उसको दाई प्रहरीमा छ । भाइले केही गर्दैन । सबै काममा सघाउने बिनोद नै थियो । अब त्यो गएपछि परिवार कसरी पाल्ने ?’
उपचारमा लापरबाही भयोः स्थानीयबासिन्दा
परिवारलाई भेट्न बिनोद चौधरीको घर गएका श्रम तथा रोजगार राज्यमन्त्री डिल्लीबहादुर चौधरीलाई गाउँलेले भट्न दिएनन । उपस्थित गाउँले उपचारमा लापरवाही भएको भन्दै तत्काल हेलिकप्टरबाट लगेको भए उपचार हुने बताए ।
‘एउटै घटनाका घाइते कसैलाई एकघन्टा अगाडि रेफर गरेर बाँकेको नेपालगञ्ज पुर्याउने तर त्यही घटनाको गम्भीर घाइते बिनोदलाई भने किन राप्ती अञ्चल अस्पतालमै राखियो ?’ स्थानीयबासिन्दाले राज्यमन्त्रीलाई प्रश्न गरेका थिए ।
परिवारलाई भेटन गएका राज्यमन्त्रीले चौधरीलाई शहीद घोषणा गराउन भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
बिष्फोटमा ज्यान गुमाएका बिनोद चौधरीको बिहीबार अन्त्येष्टि गर्ने तयारी छ ।