
काठमाडौं महानगरपालिका १४ कलंकीस्थित एउटा सटरभित्र केही मानिस बियरका कार्टुन उठाउँदै छन् । कोही फुटेका सिसी पन्छाउँदै त कोही कार्टुन/बोतलमा लागेको हिलो पुछ्न व्यस्त थिए ।
ड्याम बुट र हातमा पञ्जा लगाएर गोदाम सञ्चालक प्रल्हाद गौतम पनि हिलो सफा गर्न लागिपरेका छन् । ‘शुक्रबारको तहसनहस सफा गर्ने जाँगर बल्ल आयो । करोडौंको सामान हिलोमै डुब्यो नि !’ उनले भने ।
लगभग २ करोड रुपैयाँको सामान सत्यनाश भयो । त्यस्तो उर्लिएर बहेको बाढीले भद्रगोल नबनाओस् कसरी ?’ गौतम भन्छन्, ‘यो ठाउँमा गोदाम राखेको ५ वर्ष भयो । अहिलेसम्म यस्तो भएको थिएन तर, यो पाली त बर्बादै पार्यो ।’
बाढीले सातो लगेपछि गौतमले गोदाम सार्ने सोच बनाएका छन् । यस्तो ठाउँमा गोदाम राखेर करौडौं रुपैयाँ दाउमा नराख्ने अठोट लिइसके । अहिलेको बाढीले ठूलो पाठ सिकाएको भन्दै उनले भने, ‘यसपालिको बाढीले चेत खुलायो । अब यो ठाउँमा पसल राखेर कहाँ करोडौं जुवा खेल्छु र ।’
कलंकीलगायतका काठमाडौंको धेरै वस्तीमा बाढी पसेपछि यतिबेला ‘वस्तीमा खोला होइन, वस्ती खोलामा पसेको’ भन्ने उक्ति चर्चामा छ । यस कुरामा प्रल्हाद सहमत छन् । मानिसकै कारणले बाढीले वितण्डा मच्चाएको सुनाउँछन् । खोला बग्ने ठाउँ अतिक्रमण भएकै कारण यो हालत भएको स्वीकार गर्छन् । भन्छन्, ‘यो त सुरुवात हो । वर्षा अझै सकिएको छैन । अझै धेरै डुब्नेवाला छ ।’
प्रल्हादको गोदाम नजिकै मदनलाल पण्डितको इनारको रिङहरु बनाउने कारखाना थियो । बाढीले त्यो कारखाना पनि डुबायो ।