934 views 0 secs 0 comments

वडाध्यक्षले राहत माग्न आएकालाई खुकुरी प्रहार गरे : रोल्पा

In समाज
३१ जेष्ठ २०७७, शनिबार ०४:२५

रोल्पा – रोल्पामा रहेकाे एक गाउँपालिकाका वडाध्यक्षले राहत माग्न आएकालाई खुकुरी प्रहार गरेका छन् ।

जिल्लाको रुन्टीगढी गाउँपालिका–९ का वडाध्यक्ष नेपबहादुर थापाले बुधबार साँझ त्यसै वडाका स्थानीय गुरु प्रसाद थापामाथि खुकुरी प्रहार गरेका हुन् । 
लकडाउनका कारण दैनिकी चलाउन गाह्रो भएको भन्दै मजदुर मानसिङ थापासहित त्यहाँ पुगेका आफुहरुले वडा कार्यालयबाट राहत पाउनुपर्ने माग गरेपछि वडाध्यक्षले सुरुमा मानसिङलाई मुक्का प्रहार गरेको र छुटाउन जाँदा आफू माथि वडाध्यक्षले खुकुरी प्रहार गरेको घाइते गुरुप्रसाद थापाले बताउनुभयो ।
गुरुप्रसाद र मानसिङलाई बचाउन जाँदा छिमेकी ग्वाता थापा समेत घाइते हुनुभएको छ ।
घुँडामा गहिरो चोट लागेका थापाको थापाको अहिले होलेरीस्थित एक निजी क्लिनिकमा उपचार भइरहेको छ । वडाध्यक्ष थापाले मोबाइल फोन समेत खोसेर १५ हजार रुपैयाँमा जबरजस्ती मिलापत्र गर्न बाध्य पारेको पीडितको भनाइ छ । 
मिलापत्र नगरी उपचार गर्न नजानू भनेका थिए’, पीडित थापाले भन्नुभयो, ‘तर गम्भीर चोट लागेकाले उपचार गर्न आएँ ।’
उपचारपछि पीडित थापाले इलाका प्रहरी कार्यालय होलेरीमा उजुरी गर्ने बताउनुभएको छ । 
वडाध्यक्ष थापा तत्कालिन एमालेबाट निर्वाचित भएका हुन् । उनी यसअघि पनि पटक पटक यस्ता क्रियाकलापमा संलग्न हुँदै आएका छन् ।