
– प्रतिमा अधिकारी
असोज १३ काठमाण्डौं ।
म बाँचेकी छैन अहिले
उसो त बाँच्नेहरू पनि मरेजत्तिकै छन् यहाँ
तर, एकरत्ति पिर नलिनू आमा
म बाँचेकी भए
मेरो नाम बदलिन्थ्यो र वेश्या हुन्थेँ
मेरो काम बदलिन्थ्यो र नौटंकी हुन्थेँ
तिरस्कार गर्थ्यो यो समाजले
बहिष्कार गर्थ्यो
मरेकी भएर दिएको हो सान्त्वना ।
म त जिउँदै मरेकी हुँ हिजो
आज मारिरहेका छन् मलाई
भोलि पनि खोजी-खोजी मार्नेछन्
कुण्ठाले ग्रसित रोगीहरूले ।
बलात्कृत भएर पनि
म ज्युँदै भएकी भए
समाजको नियम र परिधि नामको सुलीमा चढाएर
तेर्स्याउने थिए नारी अस्मिताका अथाह प्रश्नहरू
सत्ययुगमा रामायणका रामहरूले जस्तै
हरेक युगमा लिने थिए मेरो कुमारीत्वको अग्नि परीक्षा
यदि म झुट ठहरिए
ज्युँदै जलाउने थिए अर्धनग्न बनाएर
सिंहासनमा विराजमान भई बसेका
गिद्धहरूका प्राङ्गणमा ।
ए बा !
भयो अब ती गहिरा खोँचहरूबाट
समुद्र भेट्ने अभिलाषामा
न्यायका नदीहरू नबगाउनू
म त उहिल्यै मरिसकेकी छु
यहाँ म बाँचेकी भए
यिनीहरूले झन् फोर्ने थिए ती चाउरिएका पहाडहरू ।
अहिले म रंगमञ्चको एउटी पात्र बनेकी छु
लिलामीमा छ मेरो अस्मिता
नारी अस्तित्वको यहाँ मोल-मोलाइ हुँदै छ
खरिददारहरूले जसरी पनि मलाई किन्न चाहन्छन्
बिक्रेताहरू जसरी हुन्छ आफूलाई कुवेर बनाउन खोज्दै छन्
एक हुल रमितेहरू
बडो उत्सुक भएर हेरिरहेका छन्
रंगमञ्चमा तमासाले भरिएको एउटा नाटक ।
सोच्नुहोस् त बा !
म यहाँ बाँचेकी भए
कसले हेर्थ्यो र सफेद छोडेर मैलिएको कपडा
चुटेर असिनाले
भुईंमा झरेपछि पैतालाहरूले कुल्चिएको फूल
अनि,
अनि साँझ परेपछि
गगनमा झुल्किने दाग बसेको जुन ।
रंगमञ्चमा कथा सकिएपछि
हस्पिटलमा कहानीहरूको पोस्टमार्टम हुने दिन
अर्को बीभत्स तमासा देखिनेछ ।
रंगमञ्चमा कथा सकिएपछि
न्यायालयका बन्द आँखाहरूले फैसला गरेको दिन
हत्याराहरूले उत्सव मनाउनेछन् विजयको
पहिरिने छन् पुष्पहारहरू
आफ्नो अस्मिताको रक्षार्थ
जसरी धर्तीमा समाहित भएकी थिइन् उनी
श्रद्धाञ्जलीको एक थुङ्गा फूल लिई
त्यसैगरी गंगामा लीन हुँला म
कहिल्यैकहिल्यै नफर्कने गरी ।
तर,
ए मूर्ख भिड !
एकछिन पर्ख अनि सुन
हतार नगर मलाई जलाउन
हतार नगर मलाई डुबाउन
हतार नगर आँखा बन्द गरेर फैसला सुनाउन
हतार नगर विजयोल्लास मनाउन
लासका नयनहरूले प्रश्न गरिरहेका छ्न्
यो विश्वलाई,जगत्लाई ।
तिमी दबाउन चाहन्छौ जसलाई
उसैले विद्रोह गर्यो भने ?
तिमी जलाउन चाहन्छौ जसलाई
उसैले तिमीलाई जलाइदियो भने ?
तिमी बगाउन चाहन्छौ जसलाई
उसैले तिमीलाई गहिराइमा विलीन गराइदियो भने ?
कुनै दिन रिस र आक्रोशका आवेगहरू सँगालेर
ठप्प गरिदिए भने यो प्रकृतिलाई ?
रोकिदिए भने यो सृष्टिलाई ?
भन, के रहला त नारीबेगरको एक पुरुष अस्तित्व ?