818 views 0 secs 0 comments

मतदाताको खेतमा धान काट्दै उम्मेदवार

In देश, राजनीति, समाज
४ मंसिर २०७४, सोमबार १३:०७

 

सोलुखम्बु, मंसिर ४ – उम्मेदवारले चुनाव प्रचारका क्रममा मतदाताको ध्यान आफूतिर तान्न खरो भाषण गर्ने कुरा नौलो होइन । विपक्षीको जरै उखेल्ने गरी विरोधको भाषण र आफ्नो जित पछि आफ्नो क्षेत्रमा विकासको मुल फुटाउने घोषणा गर्ने उम्मेदवारको यतिखेर कमी छैन ।
तर सोलुखुम्बु प्रदेश सभा क का उम्मेदवार उत्तमकुमार बस्नेत भने यस मामलामा फरक देखिएका छन् । उनको भाषणमा न त विपक्षीको कडा बिरोध सुनिन्छ, न त सपनाको पोकाहरु ।

उनी प्रचारका क्रममा फरक शैली अपनाएर चर्चामा छन् । बस्नेतले मतदाताको खेतबारीमा नै पुगेर धान काट्दै मत मागेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ । धान काट्ने क्रममा बाम गठबन्धनका समानुपातिक उम्मेदवार माओवादी केन्द्रका सुनिता किरातीसमेत सँगै थिए ।
मतदाता जहाँ छन् त्यहीँ पुगिरहेका बस्नेत आफूलाई मतदाताले माया दिएको भन्दै उत्साहित छन् । भन्छन् “ठूलो सपना केही बाँड्या छैन, नागरिकले भने बमोजिमको विकासे काम गर्ने हो, यस पटक भोट दिनुस् काम गर्न सकिन भने फेरि भोट माग्नै आउँदिन ।”

उनले सोलुखुम्बुको नेचा सल्यान क्षेत्रमा मतदाताको खेतमा पुगेर धान काट्दै मत मागे । “सुरुमा त उहाँहरुले केही भन्नु भएन, पछि वाम गठबन्धनको तर्फवाट एमालेको उम्मेदवार मैं हुँ भन्दा छक्क पर्नु भो” बस्नेतले भने ।

एक मतदाता थर्कनारायण कटेल भन्छन् “हाम्रै खेतमा आएर काम गर्ने उम्मेदवारले गाउँको विकास गर्छ भन्नेमा हामीलाई केही आशा पलाएको छ ।”