7425 views 0 secs 0 comments

कलाकारको राजनीति मोह, को कुन पार्टीमा ?

In देश, मनोरञ्जन, राजनीति, समाज
४ मंसिर २०७४, सोमबार १३:१४

 

काठमाडौं, मंसिर ४ –पछिल्लो समयमा धेरैजसो कलाकारहरु कुनै न कुनै पार्टीमा आवद्ध छन् । तर पार्टी प्रवेशपछि केही कलाकारहरुको सक्रियताले निरन्तरता पाएको छ भने केही प्रवेशसँगै राजनीतिबाट गुमनाम हुने गरेका छन् ।

नेपालमा पहिलो संविधानसभा सँगै हालै सम्पन्न  स्थानीय तहको चुनावका बेला समेत  कलाकारहरुको पार्टी प्रवेशले निरन्तरता पायो । अहिले प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनावका बेला पनि कलाकारको पार्टी अदलीबदली चलिरहेको छ ।

पार्टीमा आवद्ध भएका केही कलाकारहरुले स्थानीय तहको चुनावमा आफू आवद्ध पार्टीको लागि भोट माग्दै हिँडे । केही कलाकारहरु पार्टीमा प्रवेश गरे तर चुनावको प्रचारप्रसारबाट टाढै रहे । तर केही कलाकारहरुले भने कुनै पनि पार्टीमा आवद्ध नहुँदा पनि आफूले चाहेको पार्टी र नेताका लागि भोट माग्दै हिँडेका थिए । महानायक राजेश हमाल स्थानीय तहको चुनावको समयमा काठमाडौं महानगरपालिका वडा नम्बर २६ एमालेबाट उम्मेदवार दिएका देवेन्द्र रिमालका लागि भोट माग्दै हिँडेको देखिएको थियो ।  जबकी राजेश आफूलाई कुनै पनि पार्टीमा आवद्ध नभएको स्वतन्त्र नागरिक बताउँछन् ।

यसका साथै अन्य केही कलाकारहरुले पनि खुलेर आफूले चाहेको पार्टी र नेताको समर्थन गर्दै भोट मागे ।  अहिले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि पनि केही कलाकारहरु प्रचारप्रसारमा व्यस्त भएका छन् । केहीले खुलेआम मन परेका नेताको लागि भोट मागेका छन् भने केहीले गीतसंगीत मार्फत । आज हामी यो सामाग्रीमा प्रदेशसभा र स्थानीयसभाको चुनावमा पार्टीको प्रचार प्रसार र भोट माग्ने अभियानमा सक्रिय रहेका केही कलाकारहरुको बारेमा चर्चा गर्दैछौँ ।

कोमल वली

गायिका तथा पूर्व सञ्चारकर्मी कोमल वली यतिबेला एमालेका लागि भोट मागिरहेकी छिन् । केही समयअघि मात्रै उनले राप्रपा छोडेर एमालेमा गरेकी हुन् ।  प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा उनी एमालेबाटै दाङ क्षेत्र नम्बर तीनबाट  उम्मेदवार उठ्न खोजेकी थिइन् । तर टिकट नपाएपछि उनी अहिले पार्टीको समर्थन गर्दै चुनावी प्रचार प्रसारमा मात्र जुटेकी छिन् । उनी अहिले एमालेको लागि भोट माग्दै झापा पुगेकी छिन् । कोमलले राजनीतिकै लागि रेडियो नेपालको जागिर समेत छोडेकी थिइन् ।

करिष्मा मानन्धर

अभिनेत्री करिष्मा मानन्धर नयाँ शक्ति पार्टीको स्थापना कालदेखि नै यस पार्टीमा आवद्ध छिन् । उनी यस पार्टीकी केन्द्रिय सदस्य पनि हुन् । स्थानीय तहको चुनावको समयमा उनी नयाँ शक्ति पार्टीको प्रचार प्रसारमा खुबै हिँडिन् । पार्टीले आयोजना गरेका हरेक कार्यक्रममा उनको उपस्थिति रह्यो । प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा उनी नयाँ शक्तिपार्टीबाट समानुपातिकमा उम्मेदवार छिन् । यतिबेला उनी नयाँ शक्तिको लागि भोट माग्दै हिँडेकी छिन् । केही दिनअघि मात्रै उनी बाबुरामको लागि भोट माग्दै गोरखाको पालुङटारमा पुगेकी थिइन् ।  बाबुराम गोर्खा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको उम्मेदवार  छन् ।

रेखा थापा 
अभिनेत्री रेखा थापा राप्रपा प्रजातान्त्रिककी केन्द्रीय सहस्य हुन् । यतिबेला उनी अध्यक्ष पशुपति शमशेर राणालाई जिताउने अभियानमा जुटेकी छिन् । अहिले उनी शमशेरलाई जिताउनकै लागि भोट माग्दै हिँडेकी छिन् । केही दिनअघि मात्रै उनी  सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट  प्रतिनिधसभाको सदस्यका उम्मेदवार शमशेरलाई जिताउनको लागि भोट माग्न सिन्धुपालोचक पुगेकी थिइन् । रेखा राप्रपाकी सहमहामन्त्री समेत हुन् ।

राधिका हमाल

लोक गायिका राधिका हमाल स्थानीय तहको चुनावमा  कांग्रेसबाट गृह जिल्ला रोल्पाको  त्रिवेणी गाउँ पालिकाको उपप्रमुखमा उम्मेदवार थिइन् । यस्तो अवस्थामा राधिकाले कांग्रेसको प्रचार प्रसार गर्नु त स्वभाविक नै हो । तर उनी विजेता बन्न भने सकिनन् । स्थानीय तहको चुनावमा सक्रिय रहेकी राधिका अहिले पनि कांगे्रसलाई भोट मागिरहेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत पनि नेपाली कांग्रेसको समर्थन गर्दै प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा कांग्रेसलाई भोट हाल्न सबैलाई आग्रह गरेकी छिन् ।  यसका साथैै उनले गीत संगीतमार्फत पनि पार्टीको प्रचार गर्दै आएकी छिन् ।  उनले चुनावलाई नै लक्षित गर्दै ‘कांग्रेस हो सुख र दुःखमा’ बोलको गीत सार्वजनिक गरेकी छिन् ।

बद्री पंगेनी

स्थानीय तहको चुनावमा लोकगायक बद्री पंगेनीले ‘मै पनि एमाले, सैं पनि एमाले’ भन्दै गीतको माध्ययमबाट एमालेको प्रचार–प्रसार गरे । एमालेको समर्थन जनाउँदै उनले एमालेले विभिन्न ठाउँमा आयोजना गरेका कार्यक्रममा पुगेर यही गीत प्रस्तुत गरे । स्थानीय तहको चुनावमा खुलेर एमालेको प्रचारप्रसारमा लागेका उनी यतिबेला पनि वाम एकताको गीत गाएर चुनावको प्रचार प्रसारमा सक्रिय देखिन्छन् । यतिबेला उनले पुष्पकमल दाहालको समर्थनमा ‘अघि बढ प्रचण्ड’ बोलको गीत गाएका छन् । केही दिन पहिले बद्रीले गगन थापाको विरुद्धमा गीत गाएपछि समाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो

रवीन्द्र खड्का

लामो समय राप्रपामा रहेका कलाकार रवीन्द्र खड्काले पनि पार्टी परिवर्तन गरेका छन । कांग्रेस र राप्रपाको चुनावी तालमेलपछि राप्रपालाई  जिल्लाका एक सिट पनि नदिने निर्णय भएपछि  गरेपछि रवीन्द्रले राप्रपा परित्याग गरेर एमालेलाई अँगाले ।  उनी यतिबेला एमालेको समर्थन जनाउँदै प्रतिनिधिसभा  र प्रदेशसभाको चुनावका लागि प्रचार–प्रसारमा जुटेका छन् । शाही कालमा राप्रपाबाट काभ्रेको पनौतीबाट  मेयर बनेका रवीन्द्र एमालेमा प्रवेश गर्दा धेरै अचम्ममा परेका थिए ।

विनोद चौधरी

नेपालका एकमात्र अरबपति तथा पछिल्लो समय लेखकका रुपमा समेत पचिय थपेका  विनोद चौधरी कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनेका छन । यतिबेला उनी प्रदेशसभा र प्रतिनिधिसभा चुनावको प्रचार–प्रसारमा जुटेका छन् । चौधरी गोरखामा आयोजित लोकतान्त्रिक गठबन्धनको आमसभामा हेलिकप्टर लिएरै पुगेका थिए । उनीसँगै रामचन्द्र पौडेल र शंशाक कोइराला तथा बाबुराम भट्टराई पनि सहभागी थिए । चौधरी यसअघि नेकपा एमालेबाट समानुपातिक सांसद थिए । एमाले छाडेर कांग्रेसमा प्रवेश गरेपछि उनलाई पार्टीले समानुपातिक उम्मेदवार बनाएको थियो ।

नवल खड्का

राष्ट्रिय चासोको विषयमा सिनेमा निर्माण गर्दै आएका कलाकार नवल खड्का माओवादी केन्द्रको समानुपातिकमा उम्मेदवार बनेका छन् । हाल उनी यसैको प्रचारप्रसारमा व्यस्त छन् ।  समानुपातिकमा प्रदेश नम्बर एकबाट प्रदेशसभामा उनको नाम छ । उनले आफूलाई मुख्यमन्त्रीको दाबेदारसमेत ठान्दै आएका छन ।

निखिल उप्रेती

अभिनेता नखिल उप्रेती पहिलो पटक कसैको लागि भोट माग्न हिँडेका छन् । काठमाडौं क्षेत्र नम्बर ५मा वाम गठबन्धनका उम्मेदवार इश्वर पोखरेलका लागि निखिल भोट माग्न खटिएका छन् ।  निखिलले यसअघि कुनै पनि पार्टीलाई यसरी खुलेर समर्थन जनाएको देखिएको थिएन ।

यसका साथै अन्य केही कलाकारहरुले चुनावी गीत गाएर वा प्रहसन मार्फत चुनावको प्रचार–प्रसार गरिरहेका छन् ।  कांग्रेस निकट नेपाल सांस्कृतिक संघका कार्यबाहक अध्यक्ष शिवशंकर रिजाल जोगीन्दर विभिन्न चुनावी कार्यक्रममा सहभागी छन ।

त्यसैगरी लोकगायक विष्णु खत्रीले  वाम एकताको पक्षमा गीत गाएका छन् । वाम गठबन्धनलाई नै समर्थन गर्दै गायिका टिका पुन र गायक  नविन खड्काले  ‘आयो वाम गठबन्धन’ बोलको गीत गाएका छन् । गायक पुरुषोत्तम न्यौपाले ‘एमाले जनताको साथमा छ’ बोलको गीत गाउँदै  गीतमार्फत एमालेको प्रचार–प्रसार गरेका छन् । यस्तै गायिका पूर्णकला बिसी,  संगीतकार चेतन सापकोटा, गोविन्द मधुर आचार्य, शिला विष्ट, विपिन घिमिरेलगायतका कलाकारले पनि  चुनावी प्रचार–प्रसारको लागि गीत गाएका छन् ।