
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेता जिल्ला दौडाहामा निस्केका छन् । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली आइतबार झापा पुगेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालगञ्ज गएका हुन् ।
प्रधानमन्त्री ओली आइतबार गृहनगर झापाको दमकमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने ओलीको सचिवालयले जनाएको छ । दिनभर झापामा रहँदा ओली शिलन्यास र उद्घाटन कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ । ओलीले आइतबार दमक–४ मा रहेको कृष्णमन्दिर– बेलडाँगी सडक उद्घाटन पुल उद्घाटन गर्नेछन् । आइतबारै उनले ईलाम र पाँचथर जोड्ने दमक चिसोपानी–रवि सडकको शिलन्यास र बेलडाँगीमा आयोजीत सभालाई सम्वोधन गर्नेछन् । दिनभरका कार्यक्रम सकेर उनी आइतबारै काठमाडौ फर्कने ओलीको सचिवालय सदस्य रामशरण बजगाईले जानकारी दिए । उता, अर्का अध्यक्ष प्रचण्ड नेपालगञ्जमा आयोजित सभामा सहभागी हुन बिहानै नेपालगञ्ज पुगेका छन् । प्रचण्डसँगै सचिवालय सदस्य रामबहादुर थापा पनि नेपालगञ्ज गएका छन् ।