397 views 0 secs 0 comments

गुल्मीमा दुई बेग्ला बेग्लै बलात्कार काण्डमा चार जना पक्राउ…

In समाज
२३ माघ २०७६, बिहीबार १६:५४

गुल्मीमा दुई बेग्ला बेग्लै बलात्कार काण्डमा चार जना पक्राउ परेका छन् ।
माघ १२ गते दिउँसो करिव १ बजेको समयमा ईस्मा गाउँपालिका वडा नम्वर ६ अमरपुरमा ६८ बर्षीया बृद्धालाई बलात्कार गरेको अभियोगमा ४२ वर्षीय स्थानीय भिमप्रकाश पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै, मुसिकोट नगरपालिका–७ बडिगाड खोलाको डल्लेनहरमा माघ १९ गते स्थानीय १५ वर्षीय किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । यी दुवै घटनाका आरोपितविरुद्ध प्रहरीले मुद्दा दायर गरिसकेको छ ।
किशोरी सामूहिक बलात्कार मुद्दामा सोही वडाका ३१ बर्षीय चुराबहादुर कुमाल, १९ वर्षीय टेकबहादुर कुमाल र बाग्लुङ्ग बडिगाड गाउँपालिका–४ का १९ वर्षीय सोनु दगामी घर्ती मगर पक्राउ परेका हुन् । 
६८ वर्षीया वृद्धाको बलात्कारका आरोपित भीमप्रसाद भने पीडितकै नातेदार हुन् । पीडित वृद्धा उनकी कान्छी सासु रहेको बताइन्छ । 
उनीहरुबीच लामो समयदेखि जग्गा विवाद रहँदै आएको र विवादकै क्रममा केही अघि पीडित महिलाकी बुहारीलाई अभद्र व्यवहार गरेको आरोपमा भिमप्रसाद दुई सातासम्म प्रहरी हिरासतमा बसेका थिए ।
झण्डै दुई वर्ष यता ती दुई परिवारबीच पटक पटक झगडा चल्दै आएको र पछिल्लो पटक रिसईवीका कारण बलात्कार मुद्दामा फसाईएको नेपाली कांग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठको भनाइ छ । ‘सुनियोजित रुपमा फसाउने काम भएको छ,’ उनले भने, ‘यस्तै हो भने कुनै पनि पुरुष जुनसुकै बेला फस्ने देखियो, यो ठूलो अन्याय हो ।’
जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खड्काले थुप्रैले यस्तै गुनासो गरेको बताउँदै स्वयम् महिलाले आफू बलात्कृत भएँ भनेपछि मुद्दा दायर गर्नु परेको बताए । ‘बलात्कार हो कि होइन भन्ने कुरा अनुसन्धानले देखाउला,’ उनले भने ।