699 views 0 secs 0 comments

रौतहटमा अज्ञात समूहद्वारा स्काभेटरमाथि आगजनी…

In देश
२४ पुष २०७६, बिहीबार १२:५८

रौतहटको गुजरा नगरपालिका–३ मा बिहीबार बिहान स्काभेटरमाथि आगजनी भएको छ । हुलाकी सडक निर्माणमा प्रयोग भइरहेको बा २ ख ८९५४ नम्बरको स्काभेटरमाथि आगजनी भएको हो । आगजनीबाट स्काभेटरका महत्त्वपूर्ण भाग जलेको प्रहरीले जनाएको छ ।
आगजनीमा संलग्नबारे अहिलेसम्म नखुलेको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । आगजनी गरिएको स्काभेटर हुलाकी राजमार्गअन्तर्गत गुजराको सिमरी टोलको सडक निर्माणमा प्रयोग हुँदै आएको थियो । सडक श्रेष्ठ ढुकुछु सञ्जीवनी निर्माण कम्पनीले बनाउँदै आइरहेको थियो । स्काभेटरमा बिहीबार बिहान २ बजे आगो लागेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले आगो निभाएका हुन् । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता डीएसपी नवीन कार्कीले बताए ।