
रुकुम (पश्चिम) मा एकै रात तीन महिलाको बेडरुमसम्म पुगेर बलात्कार प्रयास गर्ने एक युवालाई पक्राउ गरेर प्रहरीले मुद्दा प्रक्रिया अघि बढाएको छ ।आठबिसकोट नगरपालिका–७ डाँफे टोलमा २२ बर्षीय केशव आरसीले एकै रात ४५ मिनेटको अन्तरालमा तीन छुट्टाछुट्टै घरमा महिलालाई उनीहरुकै बेडरुममा पुगेर बलात्कार प्रयास गरेको बताइन्छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले कार्तिक ३० गते दिउँसो आठबिसकोट नगरपालिका–९, राडीबजारबाट आरोपी आरसीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं डिएसपी सुमित खड्काका अनुसार तीनै महिलाको जाहेरीका आधारमा आरसीविरुद्ध अदालतमा जवरजस्ती करणी उद्योगको मुद्दा दायर गरिएको छ । अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।