492 views 0 secs 0 comments

घुस लिएको अभियोगमा प्रमुख प्रशासक पक्राउ…

In समाज
२ पुष २०७६, बुधबार ११:१५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थान त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१ मा रहेको जग्गासम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नका लागि घुस लिएको पाइएको आयोगले जनाएको छ । 
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुलाई घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको हो । आयोगले प्रमुख प्रशासनक र उपप्रशासकले के कति रकम लिएको भन्ने बारेमा केही खुलाएको छैन । आरोपीद्वयको अनुसन्धान जारी रहेको आयोगको भनाइ छ । यस्तै आयोगले जिल्ला मालपोत कार्यालय धादिङका तत्कालीन मालपोत अधिकृत कुशध्वज खत्री, नायब सुब्बाद्वय शम्भुनारायण राजभण्डारी र अनन्तराज सत्याल, तत्कालीन सर्वेक्षक विश्वकुमार बस्नेत र अमिन भीमप्रसाद श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।