
संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री भानुभक्त ढकाल सार्वजनिक कार्यक्रममा उपचार नपाएर कोही नेपालीले मर्न नपर्ने दाबी गर्दै आएका छन् । भर्खरै जिम्मेवारी सम्हालेका ढकालले उपचार नपाएर कसैले मर्नु नपर्ने दाबी गरे पनि उनकै निर्वाचन क्षेत्रबाट उद्दार गरिएका नागरिकको उपचार अभावमा मृत्यु भएको छ ।
कोसी अञ्चल अस्पतालको इमरजेन्सी विभाग अगाडिको निकास नालामा बेवारिसे अवस्थामा बसेका अन्दाजी ५५ वर्षिय पुरुषको मृत्यु भएको हो । पथरीबाट उद्दार गरी प्रहरीले अस्पतालसम्म ल्याएका ति व्यक्तिको उपचारमा अस्पतालले चासो नदिएपछि तीन दिनदेखि इमरजेन्सी वार्ड अगाडि छटपटाइरहेका थिए ।
विराटनगर महानगरपालिकाले उपचारको जिम्मा लिएपछि बुधबार साँझ उनीसहित विराटनगर अशोक चोकका दिलिप मुखियालाई अस्पताल भर्ना गरिएको थियो । तर उपचारको तयारी गर्दै गर्दा पथरीबाट ल्याइएका व्यक्तिको बुधबार राति नै मृत्यु भएको अस्पतालका सूचना अधिकारी विष्णुबहादुर बुढाथोकीले जानकारी दिए ।