
असोज ५ गते शनिबार राति म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले बेपत्ता भएका दुई बालिकामध्ये एकको शव फेला परेको छ भने एक बालिकाको अवस्था अझैसम्म पनि अज्ञात रहेको छ । शनिबार राति १०ः३० बजे भीषण वर्षापछि खोलामा आएको बाढीले १० वर्षकी प्रवीना परियार र ८ वर्षकी अनुश्का परियार बेपत्ता भएका थिए।
उनीहरुमध्ये १० वर्षीया प्रवीनाको शव आइतबार साँझ बागलुङको मालढुङ्गा क्षेत्रमा फेला परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। प्रहरीका अनुसार शव आफन्तको जिम्मा लगाइएको छ। बगरफाँट स्थायीरुपमा बस्ने माया परियारको घरमा पाउना बनेर गएका दुई बालिका बेपत्ता भएका थिए । बेपत्तामध्ये अनुश्का परियारको अवस्था भने अझै थाहा हुन सकेको छैन ।