काठमाडौं, मंसिर ११ –आइतबार चुनाव भएका जिल्लाका मतपेटिका सदरमुकाममा ल्याउने क्रम अझै जारी छ भने अाइपुगेका मतपेटिकाकाे सुरक्षााका लागि तालाचावी, सिलबन्दी र दलका कार्यकर्ताले समेत गस्ती गर्न थालेका छन् । सोलुखुम्बु, भोजपुरलगायतका केही जिल्लामा दलहरुले हेलिकप्टरमार्फत मतपेटिका ल्याउन नमानेका कारण मतपेटिका संकलनमा ढिलाइ भएको हो । अन्य केहि जिल्लाका विकट ठाउँबाट भने मंगलबार मात्रै मतपेटिका संकलन गरिंदैछ ।
मतपेटिका संकलन भैसकेका जिल्लामा भने मतपेटिकाको सुरक्षाका लागि विभिन्न उपाय अपनाइएको छ । केही जिल्लामा सुरक्षाकर्मीसँगै दलका कार्यकर्ताले पनि ड्युटी गरेका छन् । केही जिल्लामा निर्वाचन अधिकृतको कार्यालयले मात्रै होइन, राजनीतिक दलले पनि छुट्टै सिसी क्यामेरा जडान गरेका छन् । चुनाव भएको ११ दिनपछि मात्रै मतगणना हुने भएकाले मतपेटिकाको सुरक्षामा दलहरु समेत चनाखो बनेका हुन् ।
गोरखामा झ्यालमा समेत सिलबन्दी, दुई गठबन्धनका कार्यकर्ता पनि ड्युटीमा
गोरखाका सबै मतदान केन्द्रको मतपेटिका सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा ल्याइएको छ । आइतबार मतदान सकिएपछि सदरमुकाम र आसपासका क्षेत्र तथा सडक सञ्जालले जोडिएका मतदान केन्द्रको मतपेटिका राति ल्याइएको थियो । सोमबार विकट उत्तरी क्षेत्रका २८ मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट ल्याइएको हो ।
चुमनुव्री गाउँपालिकाका २० र धार्चे गाउँपालिकाका ८ मतदान केन्द्रको मतपेटिका लिन जिल्लास्थित राजनीतिक दलका प्रतिनिधिहरु पनि सँगै गएका थिए । वाम र लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिलाई हेलिकप्टरमै लगेर उनीहरुको निगरानीमा मतपेटिका सदरमुकाम ल्याइएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले बताउनुभयो ।
निर्वाचन क्षेत्र नम्बर १ को मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको महिला तथा बालबालिका कार्यालयमा राखिएको छ । क्षेत्र नम्बर २ को जिल्ला समन्वय समितिको कार्यालय भवनको तेस्रो तलामा राखिएको छ । प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकतर्फको मतपेटिका अलगअलग कोठामा राखिएको छ । क्षेत्र नम्बर २ को भने दुईवटा कोठामा अलगअलग चाङ बनाएर राखिएको निर्वाचन अधिकृत एकनारायण लम्सालले बताउनुभयो ।
जताततै सिलबन्दी र पालाे पहरा
मतपेटिका राखिएको कोठाको मूल ढोकामा तीनवटा ताला लगाइएको छ । निर्वाचन अधिकृतको कार्यालय र वाम तथा लोकतान्त्रिक गठवन्धनको एक/एक वटा गरि तीनवटा ताला लगाइएको हो । तालासँगै ढोकामा शिलवन्दी पनि गरी लाहाछाप लगाइएको छ ।
मतपेटिका राखिएको हरेक झ्यालमा पनि शिलबन्दी गरिएको छ । ‘हामीले प्रयोग गरेको फ्लोरमा २३ वटा झ्याल रहेछन्, ती सबैमा शिलवन्दी गरेर लाहाछाप लगाएका छौं’ २ नम्बर क्षेत्रका निर्वाचन अधिकृत एकनारायण लम्सालले भन्नुभयो ।
मतपेटिका राखिएको जिल्ला समन्वय समितिको तेस्रो अर्थात सबभन्दा माथिल्लो तल्लामा सुरक्षाकर्मी र दलका प्रतिनिधिबाहेक अरुलाई प्रवेश निषेध गरिएको छ । मूल ढोकामा चौबिसै घण्टा सुरक्षाकर्मी खटिनेछन् । क्षेत्र नम्बर १ र २ को मतपेटिका राखिएका कार्यालय नजिकै भए पनि बीचमा कम्पाउण्ड छ । महिला तथा बालबालिका कार्यालय र जिल्ला समन्वय समितिको मूल प्रवेशद्वारमा पनि चौबिसै घण्टा सुरक्षाकर्मीले निगरानी गर्नेछन् । काम लिएर ती कार्यालय आएका नागरिकलाई पनि सोधपुछ गरेर मात्रै भित्र जान दिइएको छ । ती दुबै कार्यालयको बाहिरी सडकमा भने नेपाली सेनाले पहरा दिने ब्यवस्था मिलाइएको छ ।
दलका प्रतिनिधिलाई आठ घण्टाका दरले पालो
दुईवटै निर्वाचन क्षेत्रको मतपेटिका राखिएका कोठाको बाहिर दलका प्रतिनिधिले पनि चौबिसै घण्टा निगरानी गर्ने भएका छन् । उम्मेदवार तथा दलका प्रतिनिधिलाई प्रवेश पासको व्यवस्था मिलाइएको छ । पासको आधारमा उनीहरु मतपेटिका राखिएको कोठाको मूल ढोका आसपास बस्न सक्ने मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेले बताउनुभयो ।
दुबै निर्वाचन क्षेत्रमा गरी ३६ उम्मेदवारले चुनावमा भाग लिए पनि दुई गठबन्धनका प्रतिनिधि मात्रै मतपत्र कुर्न बस्ने भएका छन् । वाम गठबन्धनले सदरमुकाम र आसपासका स्थानीय तहका अगुवा कार्यकर्तालाई पालैपालो खटाउने भएको छ ।
लोकतान्त्रिक गठवन्धनले पनि त्यसैगरी मतपेटिका कुर्ने बताएको छ । आठ–आठ घण्टाको पालो मिलाएर मतपेटिका राखिएको कोठा बाहिर बस्ने तयारी गरिएको लोकतान्त्रिक गठबन्धन अन्तर्गत नयाँ शक्ति पार्टीका नेताले बताएका छन् ।
भोजपुरमा सिसी क्यामेरा जोड्न माग
भोजपुरमा एक सय ४८ वटा मतदान केन्द्रमध्ये १ सय ३६ केन्द्रको मतपेटिका सदरमुकाम ल्याइएको छ । मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र इङ्नामका अनुसार बाँकी मतपेटिका अाएपछि प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकतर्फको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छुट्टाछुट्टै ३ वटा कोठामा राखिनेछ। ३ वटा कोठामा शिलबन्दी गरेर मुचुल्का उठाएर ताला लगाउने तयारी भएको निर्वाचन कार्यालय भोजपुरले जनाएको छ । त्यसमा दलहरुले पनि छुट्टाछुट्टै ताला लगाउने छन् ।
मतपेटिका राखिएको कोठाका प्रत्येक ढोकामा सुरक्षाकर्मी रहने छन् । तर दलहरुले सिसी क्यामेरा जडानको माग गरेपछि आयोगले त्यसको तयारी पनि गरेको छ । वाम गठबन्धनको तर्फबाट एमाले र माओवादीका एक–एक जना प्रतिनिधि खटाइएको छ । लोकतान्त्रिक गठबन्धनले पनि छलफल गरेर आफ्ना कार्यकर्ता राख्ने नराख्ने निर्णय गर्ने कांग्रेसका महासमिति सदस्य हेमन्त मुकारुङले बताउनुभयो ।
मतपेटिका राखिएको स्थानमा उच्च सुरक्षा व्यवस्था गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भवनको भित्री घेरामा नेपाल प्रहरी, बाहिरी घेरामा सशस्त्र प्रहरी र बाहिरी सुरक्षा नेपाली सेनाले गर्ने प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताउनुभयो । भोजपुरमा ५८ दशमलव २१ प्रतिशत मत खसेको थियो ।
दोलखामा सुरक्षाकर्मी र वाम गठबन्धनका कार्यकर्ताले ड्युटी गर्ने, कांग्रेस नबस्ने
दोलखामा जिल्ला अदालतमा मतपेटिका राखिएको छ । मतपेटिका राखिएको स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती गर्ने दोलखाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले बताउनुभयो ।
मतपेटिका राखिएको स्थानमा एमाले र माओवादीले एक–एक जना कार्यकर्ता परिचालन गरेका छन् । आफ्ना कार्यकर्तालाई निर्वाचन कार्यालयले पासको व्यवस्था गर्ने एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले बताउनुभयो । तर नेपाली कांग्रेसले भने मतपेटिका राखिएको स्थानमा कार्यकर्ता नखटाउने भएको छ ।
कांग्रेसका जिल्ला सभापति रुद्रबहादुर खड्काले सुरक्षाकर्मीलाई नै विश्वास गर्ने बताउनुभयो । दोलखामा एक प्रतिनिधिसभाका लागि ११ दल र ४ स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
यस्तै मतपेटिका संकलन भैसकेका अरु जिल्लामा पनि मतपेटिकाको सुरक्षाका सुरक्षाकर्मी, दलका कार्यकर्ता खटिएका छन् । केही जिल्लामा भने सिसी क्यामेरासमेत जडान गरिएको छ ।