
काठमाडौंको गोलढुंगा, फुलबारीमा गोली चलेको छ । गुण्डागर्दीमा संलग्न भएको आरोपमा खोजी सूचीमा रहेका साजन गुरुङ उर्फ नजोकलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो । विशेष सूचनाको आधारमा पुगेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीसँग जम्काभेट भएपछि प्रहरीले दुई राउण्ड गोली फायर गरेको बतायो ।
महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले घटनाबारे पुष्टि गरेका छन् । उनले भने, ‘हामीले उनलाई उपचारका लागि ट्रमा सेन्टरमा ल्याइरहेका छौं ।’ नियन्त्रणमा लिने क्रममा प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि गोली हानी समातिएको उनले बताए । उनका अनुसार गुरुङको साथबाट कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोली पनि बरामद भएको छ ।