देश हाँक्नुपर्ने सक्षम युवाहरू म्यादी प्रहरीमा जान बाध्य छन् । अनि म्यादी प्रहरीका लागि पनि असक्षम व्यक्तिहरू नेतृत्वमा छन् । के यसपालि हामी यसमा परिवर्तन गर्न सक्छौं ?’ फेसबुकमा यस्तो तिखो टिप्पणी गर्ने युवा हुन्– मिलन पाण्डे । आफ्नै आँखाले म्यादी प्रहरीहरूको अवस्था देखेपछि फेसबुकमा उपरोक्त टिप्पणी गर्ने पाण्डे आफैं पनि विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर–९ बाट प्रत्यक्षतर्फ चुनाव लड्दैछन् ।
तपाईंको उम्मेदवारी किन र केका लागि ? पाण्डेसँग सोधियो । अब नयाँ अनुहार, नयाँ सोच भएका व्यक्तिले नेतृत्व लिनुपर्छ । पाण्डेले भने— घरदैलोका क्रमा उत्साह मिलिरहेको छ । मतदाताहरूबाट अपार माया पाइरहेका छौं । एकदमै राम्रो माहोल बनिरहेको छ । जनताको मन परिवर्तन भैरहेको छ ।
जित्नुभयो भने के गर्नुहुन्छ ?
अहिले जनताका लागि देश बनाउने उपयुक्त अवसर आएको छ । म नीति निमार्णमा काम गर्छु, स्वास्थ्य, शिक्षा तथा उद्यमशीलताको क्षेत्रमा काम गर्छु । युवाहरूको अवसरका लागि विकास र समृद्धिमा जोड दिन्छु । एक संस्थाले गरेको सर्वेक्षणअनुसार नेपालमा ५ दशमलव ६ प्रतिशत पार्टीका कार्यकर्ता छन् भने बाँकी स्वतन्त्र नागरिक छन् । यसपटक हामी चुक्यौं भने जनता पाँच वर्ष पछाडि पर्ने र देश २० वर्ष पछाडि धकेलिने पाण्डेको तर्क छ । जनताले भोट हाले भने आफ्नो पार्टी सशक्त प्रतिपक्ष बन्न सक्छ भन्ने विश्वास छ उनमा । अहिले यो देशमा प्रतिपक्ष नै नभएको पाण्डेले तर्क गरे ।
काठमाडौं क्षेत्र नम्बर–४ मा नेपाली कांग्रेसका गगन थापा चुनावी मैदानमा उत्रिएकै क्षेत्रबाट सुबुना बस्नेत (२९) विवेकशील साझा पार्टीका तर्फबाट प्रत्यक्षमा चुनाव लड्दैछिन् । बाम गठबन्धनबाट राजन भट्टराईले समेत सोही क्षेत्रबाट उम्मेदवारी दिएका छन् । दुवै चर्चित अनुहारका अगाडि बस्नेत नयाँ र आमजनतामा उति परिचित वा भिजेकी पात्र होइनन् ।
चर्चित नेताहरूको क्षेत्रबाट प्रत्यक्षमा चुनाव लड्दा डर लागिरहेको छैन ? भन्ने प्रश्नमा बस्नेत भन्छिन्— चुनावी प्रचार–प्रसारमा जाँदा अपेक्षाभन्दा राम्रो प्रतिक्रिया पाइरहेका छौं । जनताले हामीलाई पनि विकल्प चाहिएको छ भनिरहेका छन्, सबैले छोरीजस्तै सम्मान गरिरहेका छन् । बस्नेतले भनिन्— चर्चित नेताहरूको नाम मिडियामा छ, तर फिल्डमा उहाँहरूको खासै नाम सुनिँदैन । बस्नेतले आफू घरदैलोमा हिंड्दा हौसला मिलिरहेको र डराउनुपर्ने स्थिति नभएको बताइन् । स्थानीयवासीको समस्या सम्बोधन नभएकाले जनता खुसी नभएको, बरु वितृष्णा बढेको अनुभव उनको छ ।
पुराना नेताहरूले गरेको गल्तीका लागि पनि हामीले गाली खानुपरेको छ । कतिले त भोटै हाल्न जान्नँ । भोट हाल्नु र नहाल्नुमा केही फरक छैनसम्म भने । बस्नेत भन्छिन्— अरूले पनि गरेनन्, तिमीहरूले पनि केही गर्दैनौ भन्ने गुनासो सुनिन्छ । चुनावी प्रचारमा जाँदा सबैले हौसला दिन्छन् भन्ने छैन । कतिले त उनलाई तिमी त हिजोअस्ति जन्मिएकी मान्छे भनेर टिप्पणीसमेत गरे । कतिले कि तपाईंजस्ता युवाहरूलाई भोट हाल्छौं, कि भोटै हाल्दैनौं पनि भने ।
कसरी जुटिरहेको छ त चुनाव लड्ने खर्च ? केही आफ्नो, केही मतदातासँगै पैसा मागेर चुनाव लडिरहेको बस्नेतले बताइन् । सफा धनले गरेको राजनीतिले मात्र राजनीति सफा पार्न सकिन्छ भन्ने उनको विश्वास छ । कतिले उनलाई स्वत:स्फूर्त रूपमा सहयोग पनि दिइरहेका छन् । यदि उनले चुनाव जिते शिक्षा, स्वास्थ्य, सुशासनको क्षेत्रमा काम गर्ने दाबी गरिन् । त्यसबाहेक सम्पदा संरक्षण गर्ने एवं पर्यटक भित्र्याउने लक्ष्य रहेको पनि उनले बताइन् ।
चुनावी मैदानमा उत्रिएका अर्का युवा हुन्, कपिलवस्तुका अजय थापा । कपिलबस्तु क्षेत्र नम्बर–३ को प्रदेशसभाको क बाट प्रत्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका २९ वर्षीय थापासँग सोधियो– तपाईंको उम्मेदवारी किन र केका लागि ?
यो ठाउँको विकासका लागि, स्वरोजगारका लागि, युवा पलायन रोक्न, उनीहरूलाई आफ्नै क्षेत्रमा रोजगारी दिलाउन तथा लोकतन्त्रको रक्षाका लागि । नेपाल कमर्स क्याम्पस, मीनभवनमा बीबीएस अध्ययनरत थापा भन्छन्— मेरा प्रतिद्वन्द्वीहरू बूढापाका छन् । मैले जनताको चाहनामै उम्मेदवारी दिएको हुँ । स्थानीय स्तरमा निरन्तर आठ वर्षदेखि जनताको सेवा गरिरहेको बताउने थापा जनताले आमूल परिवर्तन खोजिरहेको बताउँछन् । त्यसका लागि नयाँ सोच, विचार भएको व्यक्तिलाई भोट दिनु जरुरी रहेको उनको तर्क छ । नयाँपन चाहने हो भने सोच पनि नयाँ भएकै व्यक्तिलाई जिताउनुपर्छ । अरूले पैसाको बलमा भोट किने, राजनीति गरे, अब त्यस्तो चल्दैन । थापा भन्छन्— देशमै केही गरेर देखाउने व्यक्तिलाई नै जिताउनुपर्छ । अहिले यसका लागि उपयुक्त वातावरण छ ।
थापाजस्तै सोच बोकेका युवा हुन्, रुपन्देही, ओम सतिया गाउँपालिका–४, वसन्तपुरका मन्जित यादव (३०) । रूपन्देही क्षेत्र नम्बर–१ ‘ख’ बाट संघीय समाजवादी फोरमबाट उम्मेदवारी दिएका यादवले अन्य युवा उम्मेदवारजस्तै फरक मत व्यक्त गरे । समाजमा निरक्षरको संख्या धेरै छ । औषधी–उपचार नपाएका जनताको सेवा गर्ने, हरेक ठाउँमा स्कुल तथा अस्पताल बनाउने काममा सक्रिय हुन्छु । यादवले आफ्ना योजना सुनाए, मधेसीलाई जागरूक बनाउने, हक–अधिकारका बारेमा जानकारी गराउने, रोजगारी दिलाउने, किसानहरूलाई बीउ, मल प्रदान गर्ने तथा सिंचाइको बन्दोबस्त गर्ने योजना छ । यादव स्नातक तहमा अध्ययनरत छन् ।
यादवले आफू अरूभन्दा फरक हुन्छु भन्दै अनेक उदाहरण पेस गरे । यसभन्दा पहिले स्थानीय तहको चुनावमा गाउँपालिकाको मेयरमा १ सय ३२ मतले पराजित यादव यतिबेला चुनावी माहोल आफ्नो पक्षमा रहेको बताउँछन् ।
अन्य राजनीतिक पार्टीभन्दा विवेकशील साझाले युवा उम्मेदवारलाई बढी स्थान दिएको छ । यद्यपि साझाको राजनीति सहरकेन्द्रित छ । साझाका उम्मेदवारहरूको सक्रियता फिल्डको तुलनामा सामाजिक सञ्जालमा बढी देखिन्छ । पुकार बम र ऋषिका भट्टराई पनि त्यसका उदाहरण हुन् ।
राजनीतिशास्त्र र समाजशास्त्र गरेर दुई विषयमा स्नातकोत्तर पुकार बम (३०) ले विवेकशील साझा पार्टीका तर्फबाट काठमाडौं क्षेत्र नम्बर–८ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । २०७० सालको संविधानसभा निर्वाचनमा समेत उनी विवेकशील दलका तर्फबाट उम्मेदवार थिए ।
पढेलेखेका युवाहरू राजनीतिमा आए भने देशमा कायापलट हुन्छ भन्नेमा ढुक्क छन् पुकार । सिंगापुर, दक्षिण कोरिया तथा चीनको उदाहरण दिँदै उनले भने— देशको वागडोर सम्हाल्ने व्यक्ति पढेलेखेको हुनैपर्छ । भारत र चीन संसारमै पहिलो र तेस्रो अर्थतन्त्र भएको देशका रूपमा उदाउँदैछन् । हामीले पर्याप्त मात्रामा पर्यटक भित्र्याउन सकेका छैनौं । उनले भने— हामीमा प्रशस्त सम्भावना छन् । आफूले जिते कुशासन हटाउने, भ्रष्टाचार निर्मूल पार्ने, सुसंस्कृत राजनीति गर्ने प्रतिबद्धता उनले जनाए ।
अब देशलाई नयाँ सोच भएको, मूल्य–मान्यताको राजनीति गर्ने, निष्ठा भएको, पारदर्शी एवं दूरदर्शी नेतृत्व चाहिन्छ । के एन्ड के कलेजमा लेक्चरर तथा कोर्डिनेटरको अनुभव बटुलिसकेका पुकार भन्छन्— चुनावी प्रचार–प्रचारमा हिंड्दा मतदाताहरूमा हामीप्रति उत्साह पाइयो ।
सम्पदा बचाउने अभियानमा सक्रिय पुकारको समूहले सम्पदा संरक्षणका क्रममा देखिएका विकृतिहरूको डटेर सामना गर्यो । त्यतिबेला सम्पदा निजीकरण गर्ने प्रयास भएको थियो । हामीले १५ हजार हस्ताक्षर संकलन गर्यौं । उनले भने— पछि सर्वोच्चले त्यो प्रयास रोक्यो । ३५ वटा वडामा सूचनाको हक उपयोग गर्दै सुशासनको अभियान चलायौं । डा. गोविन्द केसी अनसन बसेपछि युवाहरूको त्यही जमातले व्यापक रुपमा आवाज उठाउने काम समेत गरेको थियो ।
राजनीति गर्नकै लागि अमेरिकाबाट नेपाल आइपुगेकी तन्नेरी हुन्— ऋषिका भट्टराई । विवेकशील साझा पार्टीबाट काठमाडौं क्षेत्र नम्बर–२ ‘क’ प्रदेश सभामा उम्मेदवारी दिएकी भट्टराईले अमेरिकामा म्यानेजमेन्ट एन्ड लिडरसिप विषय अध्ययन गरेकी छिन् । देशका बिभिन्न क्षेत्रबाट कमै महिलाले उम्मेदवारी दिएपछि अब आफैंले राजनीति गर्नुपर्छ भन्ने लाग्यो उनलाई । यो निर्वाचन ऐतिहासिक क्षण हो र यसको सदुपयोग गर्नुपर्छ भन्ने भट्टराईका अनुसार जनता अब साँच्चिकै परिवर्तन चाहन्छन् । परिवर्तन आउनैपर्छ भन्ने प्रतिक्रिया मतदाताहरूको छ । भट्टराई भन्छिन्— युवा र महिलाको सशक्तीकरणका लागि केही गर्ने योजना छ ।
नयाँ शक्तिले युवा उम्मेदवारलाई प्राथमिकता दिएको छ । प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर १ मा नयाँ शक्तिका २८ वर्षीय सौगात पोखरेल, २ मा ४० वर्षीय दीपक भण्डारी तथा ३ मा ३९ वर्षीय नारायणप्रसाद भण्डारीले उम्मेदवारी दिएका छन् । प्रदेशसभातर्फ १ (क) मा ३६ वर्षीय नारायणहरि तिवारी, २ (क) मा ३४ वर्षीय हेमबहादुर थापा पराजुली एवं ३ (ख) मा ३० वर्षीय नेत्रप्रसाद चापागाईं मैदानमा छन् ।
यस्तै मंगोल नेसनल अर्गनाइजेसनले प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा ३१ वर्षीय रियाज गुरुङलाई उम्मेदवार बनाएको छ । नेपाल दलित पार्टीका ४० वर्षीय राजु परियारले प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् । उक्त पार्टीबाट १ (ख) मा ३४ वर्षीय भीमबहादुर दर्जी, ३ (क) मा ४० वर्षीय कृष्णबहादुर दमाईं तथा ३ (ख) मा ३८ वर्षीया कमला विक चुनावी मैदानमा छन् । राष्ट्रिय जनमोर्चाका ३७ वर्षीय दीपककुमार थापा १ (क), ३१ वर्षीय गणेश अधिकारी २ (ख) तथा ३८ वर्षीय हिमलाल गौतम प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा चुनाव लडदै छन् ।
प्रदेशसभातर्फ भने १ (क) मा ३२ वर्षीया जानु गुरुङ, १ (ख) मा ४० वर्षीय श्रीमान थापा, २ (क) मा ३५ वर्षीय निर्मल आले, ३ (क) मा ३९ वर्षीय सुरेन्द्र विश्वकर्मा तथा ३ (ख) मा ३५ वर्षीय भीमप्रसाद गुरुङ उम्मेदवार छन् । राष्ट्रिय जनमुक्ति पार्टीले १ (क) मा ३० वर्षीया सीता श्रीष मगर र प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा ३६ वर्षीय उमा दर्लामीलाई अवसर दिएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका २५ वर्षीय बालकुमार राई प्रतिनिधिसभा क्षेत्र नम्बर २, राप्रपाका ३८ वर्षीय विष्णु खड्का २ (क), जनसमाजवादी पार्टीका २७ वर्षीय रमेश बसेल प्रतिनिधिसभा ३, संघीय समाजवादी फोरमका ४० वर्षीय चिनबहादुर नेपाली ३ (क) बाट उम्मेदवार बनेका छन् । वाम गठबन्धनबाट माओवादी केन्द्रले प्रदेशसभातर्फ २ युवा उम्मेदवारलाई चुनावी दौडमा सहभागी गराएको छ । ३९ वर्षीयद्वय दीपक कोइराला १ (क) र राजकाजी गुरुङ २ (ख) बाट चुनाव भिड्दै छन् ।
http://bit.ly/2A3MxRt