
बारा र पर्साका ८ सय ६९ हावाहुरी (टोर्नाडो) प्रभावित परिवारले घर पाएका छन् । नेपाली सेनाले बनाइदिएको घर बुधबार हस्तान्तरण गरिएको हो ।
वीरगञ्जमा आयोजित कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई नमूना घर हस्तान्तरण गरे । लगत्तै पोखरेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र राउतले सम्बन्धित स्थानीय सरकार प्रमुखलाई नमूना घर हस्तान्तरण गरेका हुन् ।
नेपाली सेनाको जनता आवास निर्माण कार्यदलका कमाण्डर विनयविक्रम राणाका अनुसार ०७५ चैत १७ गते आएको हावाहुरीबाट प्रभावितहरू नयाँ घरमा बस्न थालिसकेका छन् ।
सेनाले वर्षायामअघि नै घर निर्माण सक्ने लक्ष्य राखेको थियो । तर अविरल वर्षा, निर्माण सामग्रीको अभाव र विवादित घरहरुका कारण काम केही ढिला भएको बताएको छ ।
०७५ चैत २१ गते बसेको मन्त्रिपरिषद् बैठकले हावाहुरीबाट क्षति भएका घर पुनर्निर्माण गर्न सेनालाई जिम्मा दिएको थियो ।
तर, वास्तविक पीडित छुटेको गुनासो आएपछि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले छानबिन गरेको थियो । सबै क्लस्टरमा क्षति भएको घर पुनः प्रमाणीकरण गर्दा ४८ प्रतिशत घर संख्या घटेको नेपाली सेनाले जनाएको छ ।
दर्ता छुट भएका प्रभावितको निवेदन संकलन, स्थानीय जनप्रतिनिधि, क्लस्टर कमाण्डर र स्थानीय प्रहरी प्रमुखको टोलीले प्रमाणीकरण गर्दा २०२ जना वास्तविक पीडित छुटेका हुन् ।