585 views 0 secs 0 comments

खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध..

In समाज
२४ श्रावण २०७६, शुक्रबार १०:११

प्रदेश १ को खोटाङसहित ३ जिल्लामा नेपाल टेलिकमका सबै सेवा अवरुद्ध छन् । बुधबार राति १२ बजेबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा नेपाल टेलिकमद्वारा वितरित नमस्ते मोबाइल, ल्याण्डलाइन टेलिफोन तथा एडिएसएल सेवा अवरुद्ध भएको हो ।

हावाहुरीले उदयपुरको चित्रेथानमा रहेको टावरमा जडान गरिएको रेडियो लिङ्कको छाता अन्यन्त्र बङ्ग्याएपछि सेवा अवरुद्ध भएको नेपाल टेलिकम खोटाङका प्रमुख खगेन्द्र मगरले जानकारी दिए ।‘राजविराजमा रहेको टावरसँग लिङ्क गराएर चित्रे टावरमार्फत सेवा प्रवाह गरिएको छातालाई हावाहुरीले बङ्ग्याएको छ’, उनले भने, ‘मर्मत गर्नका लागि प्राविधिकहरु चित्रे टावरमा पुगिसके पनि हावाहुरी चल्नेक्रम नरोकिएकाले टावरमा चढेर मर्मत गर्न सकिएको छैन ।’

टेलिकमको सबै सेवा अवरुद्ध भएपछि तीन जिल्लाका सेवाग्राही समस्यामा परेका छन् ।

सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्ने असरलाई मध्यनजर गर्दै वैकल्पिकरूपमा उदयपुरकै उदयपुरगढीमा रहेको टावरमार्फत बेला–बेलामा सेवा सञ्चालनमा ल्याउने तयारी गरिएको टेलिकमले जनाएको छ । पूरै समय सञ्चालनमा ल्याउन टावरले लोड नधान्ने भएकाले बिहान, दिउँसो र बेलुकालाई लक्षित गरेर समय–समयमा मात्र सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ ।