
मिर्ग सम्झेर एक स्थानीयले चलाएको गोली लागी डोटीमा एक युवकको ज्यान गएको छ ।जिल्लाको आदर्श गाउँपालिका–५, भाडिसैनका हरि भुलले शनिबार राति करिब १० बजे मिर्ग ठानेर चलाएको गोली लागेर स्थानीय १९ वर्षीय तपेश लुहारको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय, डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले प्रारम्भिक अनुसन्धानबाट खेती मास्न आएको मिर्ग ठानी भुलले चलाएको गाेली लागेर लुहारको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।
प्रहरीले बन्दुकसहित युवकको ज्यान लिने भुललाई नियन्त्रणमा लिएको छ । प्रहरीसँगको बयानका क्रममा उनले भुलबश लुकारलाई गोली लागेको बताएका छन् ।मृतक लुहार स्थानीय घट्टेडी मन्दिरका धामी हुन् । उनले यसै वर्ष विद्यालय शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका थिए । उनी राति किन जंगलमा गएका थिए भन्ने खुल्न सकेको छैन ।जंगली जनावरलेहरूले बाली नष्ट गर्ने समस्या डोटीका किसानले पछिल्लो समय झेल्दै आएका छन् । जंगली जनावरको समस्या पेचिलो बनेपछि यसबाट मुक्ति पाउन किसानहरूले हतियारको समेत सहारा लिने गरेका छन् ।