
प्रदेश २ का बाढी पीडित जनतालाई विशेष राहत तथा रोजगारीको प्याकेज लिएर प्रधानमन्त्री केपी शर्मा ओली आफैं मधेस जाने भएका छन् । शनिवार स्वास्थ्य परीक्षणका लागि सिंगापुर जान लागेका ओली त्यहाँबाट फर्केलगत्तै बाढीपीडित क्षेत्रका जनतालाई भेट्न जानेछन् ।
प्रदेश २ बाट प्रतिनिधित्व गर्ने नेकपाका सांसदहरुको टोलीसँग शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर मधेसको अवस्थाबारे जानकारी लिएका ओलीले आफू राहतको विशेष प्याकेज लिएर बाढीपीडित जनतालाई प्रत्यक्ष भेट्न जाने बताए ।
प्रधानमन्त्रीले प्रदेश सरकारमार्फत पठाइएको तत्कालको राहत प्रभावकारी रुपमा वितरण नभएको गुनासो आएको भन्दै अब संघीय सरकार आफैं जाने बताए । उनले बाढीले पूरै घर बस्न नहुने गरी क्षति पुगेका जनतालाई सरकारले नै घर बनाइदिने र खेतीबाली नष्ट भएका पीडित परिवारका कम्तिमा एकजनालाई रोजगारीसमेत दिइने बताए ।
नेकपा प्रदेश अध्यक्ष साहले जनताले आफ्नै घर आँगनमा कम्युनिस्ट पार्टीको सरकार देख्नका लागि पनि संघीय सरकारले नै बाढीपीडित जनतालाई राहत दिनुपर्ने बताएका थिए ।