
जिन्दगीको झेल
+++
आफ्नैवरिपरि
जब मरेर पोखरीमाथि तैरिएको माछाझैँ
असरल्ल तैरिन्छन्
मृत सपनाका भुराभुरी
अनि एकाएक विगत वैरिन्छ प्रेत बनेर
र तर्छाउन थाल्छ मध्यरातमा पनि ।
+++
सुख–दुःखमा चिप्लेटी खेलेरै बितेको
त्यो स्वर्गीय बालापन
आफन्तबाट मिलेको अपमानको पुष्पगुच्छा
साथमा
परचक्रीबाट पाएको तिरस्कार
मायाले गरेको औषधीभन्दा तितो बहिस्कार
हस्पिटलले बिदा दिएको बिरामीको प्राणजसरी
बिस्तारै बिस्तारै हातबाट छुट्दै गएको मायालुको प्यार
+++
अन्त्यमा
भत्किँदै गएको विश्वासघातको ताजमहल
विस्मित हुन्छु यी सबै सम्झनुपर्दा
तर छैन खेद हरेक झेलमा
झेली जिन्दगी झेलेकोमा
भर्खरै प्रेममा परेको युवकले
आफ्नी अनाम प्रेमिकाको घरनिरैबाट धाइरहेझैँँ
बस् ! ओहोरदोहोर–ओहोरदोहोर गरिरहन्छन् झझल्कोमा ।
दीपा दाहाल