
सरकारले गन्तव्यमा सूचीकृत गरेको पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिसहितका संरचना निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ ।
समुद्री सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको पुम्दीकोटको पर्यटकीय आकर्षण उजागर गर्दै उक्त क्षेत्रलाई विशिष्ट धार्मिक पर्यटकीय गन्तव्य बनाउने सोचका साथ विशाल महादेव मूर्तिसहितका संरचना निर्माण गर्न लागिएको हो ।
स्थानीय समाजसेवी एवम् पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालका अनुसार महादेव मूर्ति निर्माण परिसरमा रु पाँच करोडको लागतमा भवन निर्माण सम्पन्न भइसकेको छ भने उक्त स्थलमा पूजा सामग्री बिक्री कक्ष, गुरु महाराज आश्रम गृहलगायतका संरचना निर्माण भइसकेका छन् ।
पुम्दीकोटमा शिव भगवान्को १०८ फिट अग्लो पूर्ण कदसहितको मूर्ति स्थापना गर्ने समितिको लक्ष्य भएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरणको सल्लाहबमोजिम बसेको मुद्रामा पूर्ण कदको मूर्ति बनाउन लागिएको उहाँले जानकारी दिनुभयो ।
मूर्ति निर्माणका लागि मात्रै रु तीन करोड १८ लाख लाग्ने भएको जानकारी दिँदै उहाँले मूर्ति निर्माणको जिम्मा भारतको बोड गाउँका नरेश बर्मालाई दिइसकिएको बताउनुभयो । मूर्तिका लागि उद्योगपति कमल जैनले सहयोग गर्नुहुने भएको अध्यक्ष बरालले जानकारी दिनुभयो । विशाल मूर्ति वरपर १०८ शिवलिङ्ग निर्माण गरिनेछ ।
समितिले मूर्ति रहने मूल भवनको डिजाइन गर्न स्काई लाइन आर्किटेक प्रमुख प्रवीन लघुसँग सम्झौता गरिसकेको छ ।
समितिको गुरुयोजनामा यस स्थलमा १०८ स्वर्गद्वारी सिँढी, रुङ्गाटा बैकुण्ठ हल, गुरु महाराज आश्रम, हरियाली बगैँचा, शान्तिस्तम्भ, ज्येष्ठ नागरिक मिलन केन्द्र, पार्किङस्थललगायतका संरचना निर्माणलाई समेटिएको छ ।
सम्पूर्ण संरचना निर्माणार्थ यहाँस्थित २२ रोपनी जग्गाको भोगाधिकार नेपाल सरकारबाट समितिलाई प्राप्त भइसकेको छ । गुरुयोजनाअनुसार सबै काम सम्पन्न गर्न रु ४० करोड लाग्ने अनुमान गरिएको पुम्दीकोट कोट विकास समितिका सदस्य प्रकाश बरालले जानकारी दिनुभयो ।
धौलागिरि, माछापुच्छ«े, अन्नपूर्ण, लम्जुङलगायतका हिमाल एक साथ अवलोकन गर्न सकिने पुम्दीकोटबाट पोखराको फेवातालसहितका रमणीय दृश्य एक साथ अवलोकन गर्न सकिन्छ । यहाँबाट देखिने दृश्यलाई हेर्न सहयोग पु¥याउने लक्ष्यका साथ २०६८ सालमा पहिलो पटक समाजसेवी हालका प्रदेशसभा सदस्य रामजी बराल (जीवन)को पहलमा शान्ति मन्त्रालयबाट रु ६५ लाख सहयोग प्राप्त भई भ्यू टावर निर्माण गरिएको थियो । भ्यू टावर निर्माणसँगै यहाँको पर्यटकीय आकर्षण बढ्दै गएको स्थानीयवासी बताउँछन् ।
त्यसपछि स्थानीय विकास मन्त्रालयबाट भूमेश्वर महादेव मन्दिर निर्माणका लागि चार लाख रुपैयाँ, भ्यू टावरको छेबार एवम् टायललगायतका लागि तत्कालीन जिविस कास्कीबाट रु चार लाख, खोनेपानी सुरपरीवेक्षण कार्यालयबाट रु दुई लाख ६५ हजार शौचालय निर्माणका लागि प्राप्त भएको थियो ।
विशाल मूर्तिसहितका संरचना निर्माण अभियानलाई साकार पार्न २०७३ साल फागुन ३ देखि १४ गतेसम्म लगाइएको महाशिवपुराणबाट २० रोपनी भूमिदानका साथै रु छ करोड १८ लाख चन्दा सहयोग प्राप्त भएको थियो ।
महायज्ञमा वीरगञ्जका उद्योगपति मुरलीधर रुङ्गटाले रु एक करोड र निर्माण समितिका अध्यक्ष बरालले एक करोड सहयोग गर्नुभएको थियो । त्यस्तै अन्य दाताले रु २५ लाखदेखि विभिन्न किसिमका सहयोग उपलब्ध गराउनुभएको समितिले जनाएको छ ।
समितिका अनुसार पूर्वाधार निर्माणकै लागि आर्थिक वर्ष २०७३÷७४ मा पर्यटन मन्त्रालयले रु २० लाख विनियोजन गरेको थियो । आव २०७४÷०७५ मा पर्यटन मन्त्रालयले रु ८० लाख विनियोजन गरेकामा रु ६२ लाख निकासा भई काम गरिसकिएको छ ।
पोखरा महानगर र समितिबीच ५०÷५० प्रतिशत सहभागिता कार्यक्रमअन्तर्गत रु छ करोडको सम्झौता भएकामा चालू आवमा रु तीन करोडको काम भइरहेको छ । मूर्ति निर्माणस्थल उच्च स्थानमा रहेका कारण सम्भावित चट्याङबाट सुरक्षित बनाउन पोखरा महानगरपालिका–२२ बाट रु तीन लाख र केयर नेपाल, हरियो वन र ओरेस नेपालबाट कूल रु चार लाख २० हजार गरी रु सात लाख २० हजार छुट्याइएको वडा सदस्य मातृका बरालले जानकारी दिनुभयो ।
पोखराको छोरेपाटनबाट पुम्दीकोट हुँदै पञ्चासेको लेकसम्मको क्षेत्र पर्यटकीय क्षेत्र भएका कारण यसको विकासमा वडा कार्यालय लागेको पोखरा–२२ का वडाध्यक्ष मित्रलाल बरालले बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयको पहलमा सिद्धार्थ राजमार्गको फलेते, ठूलीबिडी र खँदर्को भन्ने स्थानबाट पुम्दीकोटसम्म छुट्टाछुट्टै बाटो निर्माण काम भइरहेको छ । वडा कार्यालय रहेको काउले पानी लुकुन्स्वाँरादेखि पुम्दीकोट पुग्ने बाटो पनि बनिरहेको उहाँले जानकारी दिनुभयो । विशाल महादेव मूर्तिसहितका संरचना निर्माणले यस स्थललाई विशिष्ट पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने विश्वास लिइएको छ ।
–––