846 views 7 secs 0 comments

प्रधानमन्त्रीले भने – यो सपना राति देख्ने जस्तो होइन, देश बनाउने सपना हो…

In देश
२४ बैशाख २०७६, मंगलवार १४:२७

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नीति तथा कार्यक्रममा देखेको सपना राति निदाएर देखिने सपना नभएको प्रष्ट पारेका छन् । विपक्षी दलहरुले दिउँसै सपना देखेको भनेर नीति तथा कार्यक्रमबारे आलोचना/टिप्पणी गरेपछि प्रधानमन्त्री ओलीले व्यवस्थापिका संसदमा नीति तथा कार्यक्रममा उठेका विषयको जवाफ दिँदै भने, ‘यो देश बनाउने, भविष्यको सपना हो ।’
संसदमा बोल्दै प्रधानमन्त्री । तस्बिरः इलिट जोशी
उनले गत जेठ २० गते सरकारले २०७६/७७ का लागि ल्याएको नीति तथा कार्यक्रम लोकतन्त्रलाई व्यापक अर्थमा प्रयोग र रक्षा गर्ने हिसाबले ल्याइएको बताए। उनले नीति तथा कार्यक्रमले लोकतन्त्रको संवर्द्धन र सुदृढीकरण गरेको बताए।
उनले भने, ‘सामाजिक जीवन पद्दती, अभ्यास र आचरणसम्म पुर्याउने तरिकाले नीति तथा कार्यक्रम ल्याइएको छ। यस भित्र राजनीतिक स्वतन्त्र, मौलिक हक लगायतका विषयमा आफ्ना मूल्य मान्यताका रुपमा प्रस्तुत गरिएको छ।’

प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमले अलिक दुरगामी भिजन राखेको बताए। उनले भने, ‘यो कार्यक्रम १ वर्षका लागि भए पनि आगामी ५, ४, ३ वा २५ वर्ष पछि पनि के कसरी जाने भन्ने विषय उठाएको छ।’

उनले विपक्षी सांसदले उठाएका सपनाको उत्तर दिँदै भने , ‘हुन त माननीय ज्युलाई अचम्म लागेछ। सपना राति मात्रै देखिने कुरा हो। यहाँ सपनाको कुरा गरेको राति देख्ने सपनाको हैन। यो देश बनाउने, भविष्यको सपना हो। जागै हुँदा देख्ने सपना हो यो।’

उनले जवाफको क्रममा सहिदका सपना भनेको निदाएर, घुरेर देखिने सपना हो? भन्दै प्रश्न गरे। उनले अगाडि थपे, ‘ सहिदका सपना राति सुतेर देखिने सपना होइन। सहिदका सपना भनेको देशलाई के बनाउने, आकांक्षाहरु के राखिएको थियो। ती उद्देश्य, लक्ष्यलाई सपना भन्ने गरिन्छ। राति निदाएर देख्ने होइन।’

उनले अगाडि थपे, ‘१ वर्षलाई के गर्न सकिन्छ? त्यसपछि कहाँ पुग्ने भन्ने लक्ष्य हो सपना। दिगो विकास लक्ष्य एउटा सपना हो। संयुक्त राष्ट्र संघले देखेको सपना हो। यो सपना राति निदाएर देखेको सपना हैन। छलफल, सोचविचार गरेर देखेको सपना हो। देखेको मात्रै होइन, निदाएर मात्रै सपना देखिन्छ भन्ने नबुझ्न आग्रह गर्छु।’

उनले नीति तथा कार्यक्रमका सपनाले देश बनाउने कुरा गरेको बताए। उनले नीति तथा कार्यक्रममले संकल्प र अठोट पनि बोकेको बताए।

विपक्षी दल नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई निबन्ध भनेकोप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘आलोचनात्मक ठाउँ भेट्टिएनछ। त्यसैले निबन्ध भनेर टुंग्याउनुभएछ।’