
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहलले शान्ति र विकास एक अर्काका परिपूरक भएको बताएका छन् । मंगलबार व्यवस्थापिका संसदको बैठकमा बोल्दै उनले देशमा स्थायित्व जरुरी रहेको बताए ।
उनले राजनीतिक स्थायित्व भए शान्ति हुने र शान्ति भएसँगै विकास अगाडि बढ्ने बताए।
उनले भने, ‘दिगो शान्ति र निरन्तर विकास एक अर्काको परिपूरक हुन्। शान्ति नभए विकास हुँदैन। विकास नभए फेरि शान्ति हुँदैन।’
आफूले सशस्त्र द्वन्द्वपछिको शान्ति सम्झौताको बेला पनि शान्ति र विकासमा नै जोड दिएको सम्झँदै उनले सहमति र सहकार्यबाट नै शान्ति र विकास सम्भव हुने बताए। उनले भने, ‘सहमति, सहकार्य र एकताको बाटोमा जानु आवश्यक छ। विकास यात्रालाई सहज ढंगले बढाउन यो आवश्यकता छ।’
नेपालमा अझै पनि ६५ प्रतिशत जनसंख्या कृषिमा नै आश्रित भएकोले कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकीकरण आवश्यकता रहेको बताए। उनले भूमि र कृषिलाई नीति तथा कार्यक्रममा राखेकोमा सरकारको प्रसंशा गर्दै भने, ‘कृषि र भूमिलाई आयको वातावरण जबसम्म बनाउन सक्दैनौं तब सम्म हामीले सुखी नेपाली समृद्धि नेपालीको सपना साकार बनाउन सक्दैनौं।’
यसैगरी अध्यक्ष दाहालले नयाँ र ठूला कल्पना गरेर देश विकासमा लाग्नु पर्ने बताए। अहिले सरकार र जनप्रतिनिधिहरुले विकासको कल्पना गर्न आग्रह गरे। उनले भने, ‘हो हामीले अहिले भनेका कुराहरु स्वरैकल्पना हुनसक्ला। साँच्चै पूर्व-पश्चिम, उत्तर-दक्षिण रेल कुद्ला त? ठूला जहाज ग्राउन्ड बन्ला त? ठूला–ठूला होटल बनेर विकासको फड्को मार्ला त? यस्तो कुरा गर्दा काल्पनिक जस्तो लाग्छ जनतालाई आश्वासन दिए जस्तो लाग्छ। तर हामी नेताहरु, माननीय र सबै तहका जनप्रतिनिधिहरुले सपना देख्न थाल्नुपर्छ।’
उनले प्रतिपक्षीहरुले नीति तथा कार्यक्रम आश्वासनको पुलिन्दा भनेको सम्झँदै यो विपक्षीको ‘धर्म’ भएको बताए। उनले अगाडि भने, ‘उहाँहरुले भन्नु भो तर यसलाई हामीले चुनौतीको रुपमा लिएर अगाडि बढ्नुपर्छ।’