
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष इतिहासकै तीव्र विकासको वर्ष हुने बताएकी छन्। शुक्रबार आर्थिक वर्ष २०७६ ७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।
उनले झोलुङ्गे पुल बोकेर सरकार खोलाखोलामा पुगेको बताइन्। उनले भनिन् ‘जोखिमपूर्ण यात्रा गरी नदी तर्न बाध्य दार्चुलाबासीका लागि सरकारले झोलुंगे पुल लिएर गएकोछ। जनताको हरेक पीडामा सरकारले साथ दिएको छ । सरकारले विकासको मूल नारालाई अगाडि बढाएको छ।’
चीनको राजकीय भ्रमणले चीनसँगको सम्बन्ध सुमधुर भएको दाबी गर्दै राष्ट्रपति भण्डारीले यो भ्रमणले चीनका समुन्द्री र सुख्खा बन्दरगाहा प्रयोग गर्दै व्यापार गर्ने बाटो खुलेको उल्लेख गरिन्।
सरकारले अघि सारेको स्वास्थ्य बिमा अन्तर्गत १६ लाख नेपालीले बिमा गरिसकेको राष्ट्रपतिको भनाइ छ। पछिल्लो वर्ष प्रमुख आद्यान्न बालीको उत्पादनमा १० प्रतिशत वृद्धि भएको उहाँको दाबी छ।
सरकारको पहल र योजना अनुसार नै भूकम्पपछि बन्द भएको तातोपानी नाका र सुख्खा बन्दरगाह यसै वर्ष सञ्चालन हुने राष्ट्रपतिको भनाइ छ।