
पछिल्लो समय नेपालमा बालबालिका हराउने क्रम बढेको छ । सरोकारवालाले पारिवारिक कलह, साथीभाइको लहलहै र रोजगारीको खोजीलाई यसको प्रमुख कारण औंल्याएका छन् ।
एक सरकारी तथ्यांकअनुसार हराउनेमा बालिका बढी छन् । चालु आर्थिक वर्षको ८ महिनायता २ हजार २ सय १० जना बालबालिका हराएको बालबालिका खोजतलास समन्वय केन्द्रको तथ्यांकमा उल्लेख छ ।
यीमध्ये १ हजार १ सय ३७ जना फेला परे भने १ हजार ७३ जना बेपत्तै रहेको केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले बताए । अघिल्ला वर्ष ०७४ र ०७५ मा २ जहार ३ सय ३० जना बेपत्ता भएका थिए । तीमध्ये १ हजार १७ जना भेटिए पनि १ हजार ३ सय १३ जनाको अवस्था अज्ञात रहेको केन्द्रको तथ्यांकमा छ ।
केन्द्रका अनुसार चालु वर्ष फागुन मसान्तसम्म सातै प्रदेशका गरी ७ सय ४ बालक र १५ सय ६ बालिका हराएका थिए । तीमध्ये ३ सय ८४ बालक र ७ सय ५३ बालिका भेटिएका थिए । बाँकी ३ सय २० बालक र ७ सय ५३ बालिकाको खोजी भइरहेको छ ।
आर्थिक वर्ष ०७० र ०७१ मा ८ सय ३७ बालबालिका हराएका थिए । यीमध्ये ४ सय ६३ जना मात्र फेला परेका छन् । त्यस्तै आर्थिक वर्ष ०७१ र ०७२ मा हराएका ७ सय ८६ बालबालिकामध्ये ३ सय ९ जना फेला परेका छन् । ०७२ र ०७३ मा १ हजार ५ सय २ जना हराएका थिए । यीमध्ये ४ सय ८ जना फेला परे भने १ हजार ९४ जना बेपत्ता छन् । ०७३ र ०७४ मा २ हजार ७ सय ७२ जना बालबालिका हराए । यीमध्ये ७ सय २० जना भेटिए ।
पछिल्ला वर्ष फेला पर्ने बालबालिकाको संख्या न्यून रहेको केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारीले बताए । केन्द्रका अनुसार उपत्यकाबाट हराएकामध्ये ७२ प्रतिशत बालबालिका मात्र फेला पर्छन् तर देशभरको तथ्यांक हेर्दा २२ प्रतिशत मात्र फेला पर्ने गरेको केन्द्रले जनाएको छ ।
बुबा, आमा वा परिवारका कुनै पनि सदस्यले बालबालिकालाई महत्त्व नदिँदा घर छाडेर हिँड्ने गरेको भनाइ केन्द्रका अधिकृत अधिकारीको छ । ‘भेटिएका बालबालिकालाई पारिवारिक पुनर्मिलन गरेका छौं,’ उनले भने, ‘अनाथ, परिवार नभएका वा परिवारबारे केही थाहा नभएकालाई बालगृह संरक्षणमा राख्ने गरिएको छ ।’