नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दै

In खेलकुद
१० चैत्र २०७५, आईतवार १३:५३

एएफसी तेइस वर्षमुनि (यू–२३) च्याम्पियनशिप फुटबल प्रतियोगिता छनोट चरणको दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्ने भएको छ। कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा हुने उक्त खेल नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ। नेपाल सशक्त मानिएको टोली कतारलाई रोक्ने योजनासहित मैदानमा उत्रनेछ। कतार एशिया कपको विजेता टोली पनि हो।
यसअघि पहिलो चरणको खेलमा पराजित नेपाललाई अर्कोे चरण प्रवेशका लागि कतारलाई जित्नै पर्ने बाध्यता छ। शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमनसँग १–० गोल अन्तरले पराजित भएको थियो। त्यस्तै ओमानसँगको हारसँगै नेपालको एएफसी यू–२३ च्याम्पियनशिपमा छनोट हुने सम्भावनासमेत कमजोर हुँदै गएको छ। छनोट चरणमा नेपाल समूह ‘ए’मा छ। नेपालको समूहमा कतारसँगै ओमन र अफगानिस्तान पनि छन्। यसअघि एक खेल खेलेको नेपाल पराजित भएर अङ्क तालिकाको तेस्रो स्थानमा छ। समान खेल खेलेको कतार अङ्क तालिकाको शीर्ष स्थानमा छ। कतारको तीन अङ्क छ।
त्यसैगरी समान तीन अङ्क नै जोडेको ओमन दोस्रो स्थानमा छ भने अफगानिस्तान अङ्क तालिकाको अन्तिम स्थानमा छ। छनोटको शीर्षटोलीले थाइल्याण्डमा आयोजना हुने एएफसी यू–२३ च्याम्पियनशिप फुटबल प्रतियोगतामा सहभागिता जनाउनेछ। यस्तै दोस्रो हुने टोलीमध्ये उत्कृष्ट पाँच टोलीले पनि च्याम्पियनशिपमा भाग लिन पाउनेछन्। नेपालले मङ्गलबार अफगानिस्तानसँग खेल्नेछ। रासस