
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा काठमाडौंबासीलाई जगाएर हिन्दु राष्ट्र पुनर्स्थापना गरिछाड्ने संकल्प गरेका छन् ।
मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राको समापन गर्न भृकुटीमण्डपमा शुक्रबार आयोजित आमसभालाई सम्बोधन गर्दै थापाले भने, काठमाडौं खाल्डोलाई चिसो ठाउँ भनिन्छ, तान्न समय लाग्छ । जब ताप्छ, सिंगो देश जुरुक्क उठ्छ र परिर्वतनको अगुवाई गर्छ । हामी राजधानीलाई उठाउँछौं, जगाउँछौं र नेपालमा हिन्दु राष्ट पुनस्र्थापना गरेरै छाड्ने संकल्प गर्छु ।’
०६४ को चुनावमा तत्कालीन राप्रपा नेपाललाई समानुपातिकमा १ लाख १३ हजार भोट दिएर दिएका काठमाडौंबासीले ०७४ मा पछाडिको १३ हजार मात्र भोट दिएको भन्दै उनले पटक पटक सरकारमा गएको जनतालाई मन नपरेको बताए । उनले आगामी दिनमा सत्तामुखी राजनीति नगर्ने तथा हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको ऐजेण्डा नछाड्ने बताए ।
थापाले संविधान गएपछि पार्टी पटक पटक सरकारमा गएर गल्ती गरेको भन्दै जनतासामू माफी समेत मागेका छन् ।
‘म संकल्पका साथ निवेदन गर्दछु । आगामी दिनमा राप्रपाले सत्तामुखी राजनीति गर्ने छैन र राप्रपाले कहिल्यै पनि जस्तोसुकै प्रतिकुल अवस्थामा पनि हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डालाई छोड्ने छैन’ उनले भने ।
‘विगतमा भएका त्रुटी र कमी कमजोरीका कारण जनतामा पर्न गएको खिन्नताप्रति म दुख प्रकट गर्दै क्षमा याचना गर्न चाहन्छु’ उनले अघि भने ।