बुलबुल चलचित्रको अनौठो टिजर

In मनोरञ्जन
१ पुष २०७५, आईतवार १२:१६

काठमाडौँ — चलचित्र बुलबुलको टिजर युट्युवमार्फत सार्वजनिक भएको छ । ४५ दिनअघि बाटोमा नायक/नायिकालाई नचाएर बेग्लै तरिकाले गीत सार्वजनिक गरेको बुलबुलको टिजर पनि अनौठो स्वादमा आएको छ । चलचित्रको एक दृश्यजस्तो लाग्ने टिजरमा यसअघि चुलबुले भूमिकामा देखिँदै आएकी नायिका स्वस्तिमा खड्काको रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ । साथै देखिएका नवनायक मुकुन भुसालको अभिनय पनि स्वाभाविक र दमदार देखिएको छ ।
टिजरमार्फत चरित्र चित्रण र चलचित्रको स्वाद कस्तो छ भनेर छनक दिन खोजेको देखिन्छ । छोटो दृश्यमै दुवै कलाकारले फरक फरक भाव र फरक रसमा सरल तर प्राकृतिक तवरले आफ्नो अभिनय कौशल देखाउन सफल भएका छन् । टिजर हेर्दा चलचित्रमा केही न केही खदिलो र पृथक् कुरा छ भन्ने अनुमान गर्न सकिन्छ । यसअघिको अन्य चलचित्रका टिजरमा जस्तो धेरै कुरा देखाउन खोज्ने भन्दा पनि एकै दृश्यबाट धेरै आयाम प्रस्तुत गर्न खोजेको निर्माण पक्षको दाबी छ ।
आगामी फागुन ३ गते भ्यालेन्टाइनको छेको पारेर प्रदर्शनमा आउने चलचित्र बुलबुलको खुद्राखाद्री मायाले बोलको गीत पनि यतिखेर बजारमा लोकप्रिय हुँदै गएको छ । चलचित्रका निर्देशक विनोद पौडेलले पटकपटक बुलबुल चलचित्रमार्फत स्वस्तिमा खड्काको अभिनयमा नयाँ अवतार देखिने र चलचित्र उद्योगले एक सशक्त नवनायक पनि पाउने दाबी गर्दै आएका छन् । नायिका स्वस्तिमा खड्का स्वयंले पनि यो चलचित्र आफ्नो करियरकै कोशेढुंगा हुनेमा ठूलो आशा राखेको बताएकी छन् ।
चलचित्रका निर्माता अविरल थापाले अब हरेक १० दिनको अन्तरालमा अन्य रोचक र अनौठा प्रचार सामग्रीहरु क्रमश: सार्वजनिक हुँदै जाने बताए । बुलबुलका कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने छायांकन सुसन प्रजापतिले गरेका छन् ।
चलचित्रमा नवनायक मुकुन भुसाल, बुद्धि तामाङ, दिपक क्षत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय छ । चलचित्रको संगीत कोसिस क्षत्री र उद्गम परियारले दिएका छन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ ।