
सिड्नी – विश्वमै सबैभन्दा बढी उमेरमा स्काइडाइविङ गरेर अष्ट्रेलियाकी १०२ वर्षे आइरिन ओ‘शियाले विश्व रेकर्ड राख्न सफल भएकी छिन् । उनले १४ हजार फिटमाथिबाट २२० प्रतिघण्टाको रफ्तारमा सफलतापूर्वक अवतरण गरेकी थिइन् ।
यसभन्दा अघि सन् १९१६ मे मा र पहिलोपटक १०० औँ जन्मदिनमा गरी दुईपटक स्काइडाइविङ गरिसकेकी आइरिनका लागि तेस्रोपटकको स्काइडाइविङ सहज भएको बताउँछिन् । यो पटकको डाइभिङ गर्दा कत्तिपनि डर नलागेको भन्दै उनले भनिन्, ‘म अर्को वर्षको लागि पनि तयार रहनेछु । र बाँचिरहेँ भने १०५ वर्षमा पनि स्काइडाइविङ गर्नेछु ।’
च्यारीटीको निम्ति पैसा जम्मा गर्नको लागि स्काइडाइविङ गरेकी आइरिनले जम्मा भएको पैसा ‘मोटर न्यूरोन रोग’ को रिसर्चको लागि खर्च गर्ने बताएकी छिन् । उनले आफ्नी छोरीको ६७ वर्षको उमेरमा यही रोगबाट मृत्यु भएपछि यस रोगको बारेमा रिसर्च गर्नु उनको जीवनको लक्ष्य भएको थियो । उनले २०१६ मा च्यारिटीको लागि १२ हजार डलर संकलन गरेकी थिइन् । यो पटकको स्काइडाइविङबाट पनि १० हजार डलर जम्मा गर्ने लक्ष्य रहेको बताउँछिन् ।
१०२ वर्षको उमेरमा पनि आफ्नो काम आफै गर्ने आइरिनले अमेरिकास्थित न्यूजर्सीका सबैभन्दा बढी उमेरका स्काइडाइवर केनेथ मेयरको रेकर्ड ताड्न सफल भएकी छिन् । उनी केनेथभन्दा २१ दिन जेठी छिन् ।