928 views 0 secs 0 comments

वैदेशिक रोजगार विभागमा कर्मचारी–दलाल नेक्ससमा ‘ब्रह्मलुट’, सरकार मुखदर्शक

In देश
२० मंसिर २०७५, बिहीबार १२:१०

काठमाडौं। वैदेशिक रोजगार विभाग ताहाचलमा श्रम स्विकृतिका फाइल बोकेर आफै सेवाग्राही काउण्टरमा पुग्न निकै खुसामत गर्नुपर्छ । पुगिहाले पनि सेवा पाउँदैनन् । विभिन्न बाहानामा फाइल फर्काइन्छ । अनि शुरु हुन्छ दलालको चलखेल ।
लामो लाइन बसेर काउण्टरसम्म पुगेका सेवाग्राही काम नहुँदा दिक्क हुन्छन्, उनीहरुसँ फेरि लाइन बस्ने समय हुँदैन । यस्तो अवस्था कुरेर बसेका दलालहरु सेवाग्राहीका सहयोगी बनेर आउँछन्, अनि मोलमोलाई गर्छन् । निश्चित रकम दिएपछि काम पनि फटाफट हुन्छ । यसरी कर्मचारी र दलालको अपवित्र एकताले सेवाग्राही दिउँसै लुटिनुपरेको सेवाग्राहीहरुकै गुनासो छ ।
विभागमा श्रम स्वीकृतिका लागि बुधबार विभागको कार्यलय ताहाचल पुगेका मोरङका गोविन्द बहादुर विष्ट श्रमिकहरुले काम गर्न समय लगाइदिने र विचौलियाहरुको माध्यमबाट कर्मचारीहरुले श्रमिकलाई १५ सय देखि २ हजारसम्म लुट्ने गरेको बताए ।
उनण्ले भने, ‘कर्मचारीहरु बाहाना बनाएर आधाघण्टामा सकिने काम दुईतीन घण्टा लगाउँछन् बाहिर लाम बढेपछि बिचौलियाहरु २ हजार दिनुस् काम तुरुन्त हुन्छ भन्दै आउँछन् बिचौलियालाई माध्यम बनाएर कर्मचारी नै लुट गरिरहेका छन् ।’ विष्ट कतारमा ड्राइभिङ काम गर्थे । उनी विदा घर आएका थिए । फेरि कतार जाँन उनी श्रम स्वीकृति लिन बुधबार ताहाचल पुगेका थिए ।
उनले भने, ‘मन्त्री गोकर्ण विष्टले बाहिर जति चर्चा बटुल्ने हल्ला फैलाएपनि हामीलाई यस्तो सास्ती छ । विभागका कर्मचारीहरु नै हामी परदेशमा दुःख गर्ने गरिव श्रमिकहरुलाई लुटेको थाहा पाएर पनि मन्त्री गोकर्ण विष्ट चुपचाप किन छ ?’ उनले विभाग बाहिर आफूलाई प्रहरीले हटहट भन्दै ठेलेर पर पु¥याएको गुनासो पोख्दै भने, ‘नेपालमा हामी श्रमिकलाई प्रहरीले पनि यसरी हेप्छन् हामी मान्छे होइनौं ? बरु हामी श्रमिक यहाँभन्दा परदेशमा सम्मानित जीवन जीउँन पाउँछौ ।’
व्यवस्थित सेवा दिने भन्दै गएको आइतबारदेखि विभागले अलाइन निवेदन लिने र अनलाइनमै सेवा लिने मिति तोक्ने गरेको छ । तर, विभागले दिने सयम र उडानको समयबीच तारताम्य छैन । जसको कारण सेवाग्राही थप मर्कामा परेका छन् । उडान गर्नुपर्ने मिति आउँदा पनि श्रम स्वीकृति लिन पाउँदैनन् । यस्तो समस्याले गर्दा बुधबार विभाग कार्यालय ताहचलमा झन अवस्था खराब देखिएको थियो ।
झापाका तुलसी प्रसाद उप्रेति मंगलबारदेखि विभागमा लाइनमा छन् । उनको बिहीबार बिहान ९ः५० बजे साउदीको फ्लाइट थियो । बुधबार श्रम स्वीकृति लिन उनी लाइनमै बसेर सेवा लिने काउण्टरसम्म पुगे । तर, श्रम स्वीकृति पाएनन् । विभागको गेटबाट भित्र पसिसकेपछि प्रहरीहरुले उनलाई तपाईको मान्छे भित्र कोहि छैन तपाइको काम भोलि हुन्छ भन्दै भित्रबाट बाहिर निकालेको उनले बताए ।
‘मेरो टिकट भोलि छुट्न सक्छ । त्यसको जिम्मेवारी सरकारले लिन्छ ? उप्रेती भन्छन्, ‘विचौलियाहरु २ हजार दिनुस् तपाईको काम एकैछिनमा हुन्छ भन्छन् । हामी बाहिर बसिबसि बिचौलियाहरुले काम गर्दिन्छन् । हामी सोझा श्रमिकहरुलाई ठग्न सरकारले ज्यादती हामीमाथि गरेको छ ।’
श्रम स्वीकृतिका लागि आएका झापाका सुरेन्द्र पोखरेल पनि अनलाइन प्रणालीलाई विभागले व्यबस्थित गर्न नसकेकोमा आफूहरुले दुख पाउनु परेको गुनासो गर्छन् । उनको समस्या पनि उस्तै छ । उनी श्रम स्वीकृतिका लागि ३ दिनदेखि विभागको बाहिर बाटोमा नै समय बिताइरहेका छन् । श्रमिकहरुको उडान गर्ने समय हेरेर सरकारले टोकनमा मिति तोक्नुपर्ने र सेवाग्राहीको समस्या बुझेर विभागले सेवा उपलब्ध गराउनुपर्ने उले बताए ।
सुरेन्द्रको पालो आउन अझै निकै दिन बाकीँ छ । उनी भन्छन्, ‘होटलमा खाँदा बस्दा खर्च कति हुन्छ? हाम्रो खर्च सरकारले बेर्होनुपर्छ होइन भने व्यबस्थित तरिकाबाट श्रम स्वीकृतिको व्यबस्था गर्नुपर्छ ।’ पोख्रेलले भने, ‘चिल्ला कुरा गरेर हिड्ने नेताहरु र श्रमिकको पसिनाबाट भित्रिएको रेमिट्यान्समा रमाउने सरकारले श्रमिकलाई सेवाका नाममा सास्ती दिएको छ ।’
विभागमा आइतबारदेखि लागू हुने गरी सुरु गरिएको अनलाइन टोकन प्रणालीपछि सेवाग्राहीको काम निकै अव्यबस्थित बनेको छ ।
सेवाग्राही विभागको बाहिर अलपत्र अबस्थामा रहँदा, काम नबन्दा र फ्लाइट छुट्ने समस्या हुँदा बिचौलियाहरुको चलखेल झनै बढ्ने समस्या देखिएको छ ।
वैदेशिक रोजगार विभाग ताहाचलका महानिर्देशक युवराज खतिवडाले अनलाईन टोकन प्रणाली सुरु भएपछि सेवाग्राही लाइन बस्नुपर्ने समस्या नहुने बताएका थिए । जुन दिनको मिति तोकिएको छ सोहि दिनका सेवाग्राही विभाग भित्रै बसेर सेवा लिन पाउने महानिर्देशक खतिवडाले बताए थिए । तर अनलाइन टोकन प्रणालीपछि ताहाचल वैदेशिक रोजगार विभाग झनै भद्रगोल बनेको छ । सेवाग्राहीहरु निकै मारमा परेका छन् ।
बुधबारकै दिनको टोकन भएका सेवाग्राहीहरु समेत श्रम स्वीकृति लिनको लागि विभाग भित्र छिर्न सकेनन् । सेवाग्राहीको चाप बढि हुँदा व्यवस्थापनमा खटिएको प्रहरीले गेटबाट विस्तारै सेवाग्राहीलाई भित्र जान दिएको थियो । टोकनमा सेवाग्राहीको फ्लाइट अबधि हेरेर मिति नतोक्दा समस्या माथि समस्या भएको छ ।
विभागले टोकन प्रणालीको कार्यान्वयन व्यबस्थित गर्न नसकेको स्वीकार गरेको छ । विभागका महानिर्देशक युवराज खतिवडा भन्छन्, ‘विभागले अनलाइन टोकन प्रणाली व्यबस्थित बनाउन पहल गरिरहेको छ । यस प्रणालीलाई माध्यम बनाएर बिचौलियाहरुको चलखेल बढ्नसक्ने हुँदा हामी त्यसै अनुसार काम गर्छौँ ।’
महानिर्देशक खतिवडाले डिसी नेपालसँग कुरा गर्दै भने, ‘आकस्मिक अबस्थामा टोकनमा भएको मिति भन्दा अगाडि नै सेवाग्राहीको फ्लाइट भएको अबस्थामा विभागले फास्ट्रयाक प्रणालीबाट सेवाग्राहीहरुलाई सेवादिँदै आएका छौँ ।’
महानिर्देशक खतिवडाले यस्तो बताइरहँदा विभागले व्यबस्थित तरिकाले सेवाग्राहीलाई सेवा प्रदान गर्न नसक्दा धेरै सेवाग्राहीको फ्लाइट छुट्ने समस्या रहेको गुनासो सेवाग्राहीहरु गरिरहेका छन् ।
वैदेशिक रोजगारका लागि जाने युवाहरुले अनलाइन प्रणालीबाट खेप्नुपरेको सास्तीको रमिता हेरेर सरकार बसिरहेको गुनासो सेवाग्राहीको छ । सेवाग्राही निकै मारमा परेका छन् ।