1554 views 0 secs 0 comments

मेलम्चीको पानी २ महिनाभित्र काठमाडौँमा !

In देश, सूचना-प्रबिधि
१८ कार्तिक २०७५, आईतवार १६:४४

काठमाडौँ। मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन तीव्र गतिमा काम गरिरहेको छ।

आयोजनाको बाँकीे काम पहिलेभन्दा तेब्बर गतिमा भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयका सूचना अधिकारी टोलराज उपाध्यायले बताए।

‘‘मेलम्ची खानेपानीको काम चाँडो सकेर आगामी ६० दिनभित्र पानी ल्याउने गरी ठेकेदार कम्पनीले द्रुत गतिमा काम गरिरहेको छ ।’’ उनले भने, ‘‘पहिले दैनिक एक सय मिटर क्षेत्रमा काम भइरहेकामा अहिले दैनिक झण्डै तीन सय मिटरसरम्म काम भइरहेको छ। चाँडो काम सक्ने लक्ष्यका साथ सामग्री र कामदार दुवै बढाइएको छ ।”

दुई दशक पहिले शुरु गरिएको योजनाको काम अन्तिमचरणमा पुगेकाले अब लामो समय नलाग्ने उनको भनाइ छ। आयोजनाअन्तर्गत अन्तिम काम (फिनिसिङ) मात्रै बाँकी छ। सुरुङको केही भागमा हावा जाने ठाउँ र केहीमा द्वार(गेट) बनाउन बाँकी छ।

पानी काठमाडौँ उपत्यकामा आएको एक दुई दिनमै परीक्षण गरेपछि नियमित रुपमा घरघरमा लगिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) प्रमुख महेश भट्टराईले बताए।

मेलम्चीको खानेपानी भण्डारण गर्न केयूकेएलले उपत्यकामा ९ स्थानमा ठूला ट्याङ्की राखेको छ। ट्याङ्कीको क्षमता छ घण्टासम्म आएको पानी सङ्कलन गरेर राखिनेछ। यही ट्याङ्कीबाट विभिन्न पाइप हुँदै सेवाग्राहीका घरमा पानी पुग्नेछ। उनले भने, ‘‘ट्याङ्कीबाट पहिले मुख्य पाइपबाट प्राथमिक पाइप हुँदै सहायक पाइपबाट घरघरमा पानी पुग्छ ।’’

ठूलो परिमाणमा पहिलो पटक पानी भित्रन लागेकाले त्यसलाई कसरी व्यवस्थापन गर्ने भनेर लिमिटेडले योजना बनाइरहेको छ। केयूकेएलका प्रमुख भट्टराईका अनुसार पानीलाई सर्वसाधारणको घरसम्म पु–याउनका लागि एक हजार मिटर पाइप चक्रपथको वरपर बिच्छ्याउँदै गरिएको छ।
नयाँ ट्याङ्कीबाट पानी परीक्षणका लागि केही महीना लाग्ने भएकाले पहिले पुरानो ट्याङ्कीबाट सङ्कलन गरेर पाइपबाट पानी वितरण गरिने छ। उनले भने, ‘‘नयाँ ट्याङ्की र पाइप सबै हिसाबले पानी पठाउन सही देखिएपछि नै पठाइनेछ ।’’

परियोजनाले पहिलो चरणमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाविसअन्तर्गत मेलम्ची नदीको मुहान निर्माण भएको छ। स्थानीय रिबर्मादेखि सुन्दरीजलसम्म करीब २६ किलोमिटर लामो सुरुङबाट दैनिक १७ करोड लिटर पानी उपत्यका भित्र्याउने लक्ष्य रहेको छ। दोस्रो चरणमा याङ्ग्री र लार्के नदीबाट दैनिक १७/१७ करोड लिटर गरी जम्मा ५१ करोड लिटर पानी दैनिक काठमाडौँ उपत्यका भित्र्याउने दीर्घकालीन लक्ष्य आयोजनाको छ।

सन् २००२ मा गरिएको प्रारम्भिक अनुमान अनुसार आयोजनाको जम्मा लागत ४६४ मिलियन युएस डलर छ। आयोजनामा नेपाल सरकारसँगै एशियाली विकास बैंक, विश्व बैक, जेबिक, नोराड, सिडा, ओपेकलगायतका संस्थाको पनि आर्थिक सहयोग रहेको छ।