
काठमाडौं – शिवराम श्रेष्ठले शुक्रबार पार–६८ को रोयल नेपाल गल्फ कोर्समा सूर्य नेपाल काठमाडौं ओपनको उपाधि उचालेका छन्। अन्तिम दिन इभन पार ६८ स्कोर बनाएका शिवरामले कुल ७२ होलको समाप्तीमा ११ अन्डर २६१ स्कोर बनाउँदै उपाधि आफ्नो बनाएका हुन्। शिवरामले भुवन नगरकोटीमाथि ६ स्ट्रोकको जित निकालेका थिए।
सिजनको दोस्रो उपाधि जितेका शिवरामले करिअरको ४ सय ३३ औं उपाधि जित्न सफल भए। उपाधिसँगै शिवरामले ९५ हजार बराबरको चेक प्राप्त गरे। शुक्रबार पाँच अन्डर ६३ बटुलेका भुवनले ७२ होलको समाप्तीमा कुल पाँच अन्डर २६७ स्कोर बनाउँदै उपविजेता भए। भुवनले ६५ हजार रुपयाँ नगद पुरस्कार प्राप्त गरे।
तेस्रो स्थानका धनबहादुर थापाले कुल २६८ स्कोर बनाएका थिए। उनले शुक्रबार एक ओभर ६९ स्कोरको खराब प्रदर्शन गरेका थिए। धनबहादुरले ५५ हजार नगद प्राप्त गरे। कुल २६९ स्कोर बनाएका विकास अधिकारी चौथो स्थानमा रहे। अन्तिम दिन एक ओभर ६९ स्कोर बनाएका विकासले ४४ हजार रुपैयाँ प्राप्त गरे।
रामे मगर पाँचौं स्थानमा रहँदा दुई ओभर २७४ स्कोर तथा छैटौं स्थानमा रहेका जयराम श्रेष्ठले २७७ स्कोर बटुलेका थिए। रामेले ३८ हजार र जयरामले ३२ हजार रुपैयांँ प्राप्त गरे। कुल २ सय ७९ स्कोर बटुलेका राजेन्द्र थापामगर सातौं स्थान रहे। उनले २८ हजार रुपैयाँ प्राप्त गरे।
त्यस्तै दीपक थापामगर र भूवनकुमार रोक्का समान २८० स्कोरसहित संयुक्त रूपमा आठौं स्थानमा छन्। तीनैले २३ हजार रुपैयाँ प्राप्त गरे। सूर्यप्रसाद शर्माले दशौं स्थान प्राप्त गर्दा कुल २८१ स्कोर बटुले। उनले १८ हजार प्राप्त गरे।
एमेच्योरतर्फ को उपाधि शुक्रबहादुर राइले प्राप्त गरे। अन्तिम दिन एक ओभर ६९ को खराब प्रदर्शन गरेका शुक्रबहादुरले कुल चार अन्डर २६८ स्कोर बटुलेका थिए। अन्तिम दिन ७२ स्कोर बटुलेका टंकबहादुर कार्कीले कुल २७३ स्कोर बटुल्दै दोस्रो स्थानमा रहे। तेस्रो भएका सुवास तामाङले कुल २७६ स्कोर बटुलेका थिए।
शिवरामले अन्तिम दिन फ्रन्ट नाइनमा एक ओभर ३५ र ब्याक नाइनमा एक अन्डर ३३ स्कोर बटुलेका थिए। भुवनले भने फ्रन्ट नाइनमा तीन अन्डर ३१ र ब्याक नाइनमा दुई अन्डर ३२ स्कोर बनाएका थिए। तेस्रो स्थानका धनले फ्रन्ट नाइनमा इभन पार ३४ को कार्ड बनाउँदा ब्याक नाइनमा एक ओभर ३५ को खराब प्रदर्शन गरेका थिए।
प्रतियोगिताका विजेतालाई सूर्य नेपाल प्रालीका विक्रि तथा बजार उपाध्यक्ष दीप्रा लाहिरी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र नेपाल प्रोफेसनल गल्फर संघका अध्यक्ष राजेन्द्रमान श्रेष्ठ प्रतियोगिताका शीर्ष २१ गल्फरले नगद पुरस्कार प्राप्त गरेका थिए। प्रतियोगितामा ३३ प्रो. गल्फर र आठ एमेच्योर गल्फरले प्रतिस्पर्धा गरेका छन्।