
काठमाडौं – इङ्लिस प्रिमियर लिगमा लिभरपुलले बर्नलीमाथि ३–१ को सहज जित हात पारेको छ। बर्नलीको घरेलु मैदानमा बुधबार राति सम्पन्न खेलमा लिभरपुलले १–० को अग्रता उल्ट्याएको थियो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५४ औं मिनेटमा ज्याक कोर्कले गोल गरेपछि बर्नलीले अग्रता लिएको थियो। तर ६२ औं मिनेटमा जेम्स मिल्नरले बराबरी गोल फर्काए। ६९ औं मिनेटमा सबस्ट्युट रोबर्टो फिर्मिनाेले पहिलो टचमै गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे।
इन्जुरी समयमा जाद्रान शाकिरीले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे। जितसँगै लिभरपुल १५ खेलबाट ३९ अंकसहित दोस्रो स्थानमा यथावत् छ। पराजित बर्नली भने ९ अंकका साथ १९ औं स्थानमा छ।
अर्को खेलमा म्यानचेष्टर युनाइटेड र आर्सनलले २–२ गोलको बराबरी खेलेका छन्। युनाइटेडको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि स्कोड्रान मुस्ताफीले २६ औैं मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, ३० औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
६८ औं मिनेटमा युनाइटेडका मार्कस रोजोले आत्माघाति गोल गरेपछि आर्सनलले पुन अग्रता लियो। ६९ औं मिनेटमा युनाइटेडका जेसी लिंगार्डले गोल गर्दै खेललाई २–२ को अवस्थामा पुर्याए। तर, त्यसपछि गोल हुन नसकेपछि दुवै टोलीले अंक बाडेका छन्। बराबरीपछि १५ खेलबाट ३१ अंक जोडेको आर्सनल पाँचौ र २३ अंक जोडेको युनाइटेड आठौं स्थानमा छ।