
काठमाडौं–भैरहवा ग्लाडियटर्स टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । किर्तिपुर स्थित टियु मैदानमा बिहिबार भएको दोस्रो क्वालिफायर खेलमा शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले रोहन मुस्तफाको काठमाडौं किंग्स–११ लाई ६ विकेटले हरायो ।
काठमाडौंले दिएको एक सय एक रनको सामान्य विजय लक्ष्य पछ्याएको भैरहवाले १६.५ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । भैरहवाको जितमा रायन टेन डोसकाटेले सर्वाधिक ४५ रन बनाए ।
रबीन्द्र सिंहले ३१ रन जोडेका थिए । रोहित कुमार पौडेलले नौ रन बनाए । कप्तान शरदले अविजित ६ रन बनाएका थिए । बलिङमा काठमडौंमा संसद शेख र प्रदिप साहुले दुई दुई विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय रन बनाएको थियो ।
काठमाडौंका लागि सन्दीप रजालीले सर्वाधिक २७ रन बनाए । प्रदीप साहुले २५ र अमित श्रेष्ठले १३ रन जोडेका थिए । अन्य ब्याट्सम्यान त्यति जम्न सकेनन् । काठमाडौंलाई सस्तैमा समेट्न भैरहवाका कुशल मल्लले तीन विकेट लिए ।
मोहमद नाभिदले दुई विकेट झारेका थिए । फाइनलमा भैरहवाले ललितपुर प्याट्रियट्ससँग खेल्नेछ । फाइनल खेल शनिबार हुनेछ ।