नोभेम्बर ११। बिहान साढे नौ बजे।
संसारको आधाजसो भूभागमा रेकर्ड भएको भुइँचालो तरंगले वैज्ञानिकहरूलाई अचम्ममा पारेको छ।
यो तरंग शक्तिशाली नभए पनि दायरा फराकिलो थियो। यो यति धेरै क्षेत्रफलमा फैलिएको थियो, १८ हजार किलोमिटर पर रहेका भुइँचालो नाप्ने उपकरणमा समेत यसको तरंग रेकर्ड भयो।
यसका बाबजुद यो भुइँचालो अनुभूति गर्ने मान्छे भने कोही भएनन्। यसलाई उपकरणले मात्र ठम्याउन सक्यो। किनकि, यो मान्छेले अनुभव गर्न सक्ने गरी शक्तिशाली नभएको नेसनल जोग्राफिकले लेखेको छ।
नेसनल जोग्राफिकका अनुसार करिब २० मिनेट लामो यो कम्पनको तरंग अफ्रिकाको दक्षिणी भेग माडागास्कारदेखि जाम्बिया, केन्या, इथियोपिया, चिली हुँदै स्पेन, न्युजील्यान्ड, हवाइ, क्यानडासम्म देखिएको थियो।
यो भुइँचालोबारे सबभन्दा पहिले न्युजिल्यान्डका एक जना मान्छेले मात्र थाहा पाए।
अमेरिकी भौगर्भिक सर्भेको ‘रियल टाइम सिस्मोग्राम’ हेरिरहेका उनले डिस्प्लेमा असामान्य रेखाहरू देखे। उनले त्यसको फोटो ट्विटरमा हालेपछि यसबारे अरूलाई थाहा भयो। ती व्यक्तिबारे सञ्चारमाध्यमले अरू जानकारी उल्लेख गरेका छैनन्। उनको ट्विटर नाम र उनले राखेका फोटाहरू मात्र सार्वजनिक गरिएका छन्।उक्त ट्विट देखेपछि वैज्ञानिक र अनुसन्धानकताहरू हैरान भए। यसको कारण खोज्न थाले। तीन साता बित्न लाग्दा पनि वास्तविक कारण उनीहरूले पत्ता लाउन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।
‘मैले यस्तो कहिल्यै देखेकै थिइनँ,’ कोलम्बिया विश्वविद्यालयका भुइँचालोविद् गोरन एक्सट्रोमको भनाइ उद्धृत गर्दै नेसनल जोग्राफिकले लेखेको छ।
यो तरंग अफ्रिका र माडागास्करको उत्तरी भागको बीचमा रहेको फ्रान्सेली टापु मायोटबाट सुरु भएको अनुमान गरिएको छ।
भुइँचालोको सबै तरंग खतरनाक हुँदैन। तर विशाल क्षेत्र ओगटेर समुद्रमा आएको यो तरंग के हो भन्नेमा वैज्ञानिकहरू सशंकित छन्।
सामान्यतया यस्तो प्रकारको कम शक्तिशाली कम्पन कुनै ठूलो भुइँचालोपछि परकम्पनका रूपमा आउँछ। तर यति धेरै क्षेत्रफलमा फैलिँदैन। अनि, यस्ता कम्पन आउन यो क्षेत्रमा ठूलो भुइँचालो पनि आएको छैन।
तरंगको प्रकार हेरेपछि वैज्ञानिकहरूले मुख्य दुई सम्भावना औंल्याएका छन्।
पहिलो, समुद्रमा कुनै उल्का झरेकाले यो तरंग आएको हुनसक्छ।
दोस्रो, पानीभित्रै ज्वालामुखी विस्फोट भएको हुनसक्छ।
यसको यकिन जवाफ पत्तो लागिसकेको छैन। वैज्ञानिक कारण मान्ने हो भने, कुनै उल्का झरेर यति धेरै क्षेत्रफलमा कम्पन ल्याउने सम्भावना छ।
कम्पन तरंग अध्ययन गरेका एक वैज्ञानिकले भने यसलाई पानीमुनि ज्वालामुखी विस्फोट भएको हुनसक्ने अनुमान गरेका छन्।
बेलायती अखबार डेली मेलले भुइँचालो परामर्शदाता एन्थोनी लोम्याक्सको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘यो पक्कै पानीमुनि फुटेको ज्वालामुखीको कम्पन हो। उत्तरी मायोटतिर। यो समुद्रीसतहभन्दा धेरै तलबाट फुटेको भने होइन।’
गत मे महिनादेखि नै मायोट आसपास यस्ता कम शक्तिशाली कम्पन रेकर्ड भइरहेको उनले बताएका छन्।
नेसनल जोग्राफिकका अनुसार फ्रान्सको भौगर्भिक सर्भेले पनि यसको मिहिन अध्ययन गरिरहेको छ। उसले पनि सामुद्रिक तटमा ज्वालामुखी विस्फोटको गतिविधि भइरहेको आकलन गरेको छ। मायोट टापु आफैंमा ज्वालामुखी विस्फोट भएर बनेको हो। तर विगत ४ हजार वर्षयता यहाँ कुनै विस्फोट भएको छैन।
फ्रान्सेली सर्भेको विश्लेषण हेर्दा बरु मायोटभन्दा धेरै टाढा र समुद्रको हजारौं फिट गहिराइमा ज्वालामुखी चलमलाएको हुनसक्ने देखिन्छ। मायोट टापुवासीका लागि यो खुसीको जानकारी हो। तै विस्तृत अध्ययन नभइसकेकाले जोखिमबाट अछुतो छन् भन्न अनुसन्धानकर्ताहरूले सकेका छैनन्।‘यो कम्पनबारे हामीलाई थाहा नभएका धेरै कुरा छन्,’ फ्रान्सको भौगर्भिक सर्भेका निकोलस टाइलेफरले भनेका छन्, ‘यो कम्पन हाम्रो लागि नौलो हो। टापुनजिक भएकाले केही भन्न सक्ने अवस्था छैन।’
कुनै जानकारी नभए पनि मायोटमा जोखिम सम्भावना भने देखिएको छ। गत जुलाइ महिना यता टापु पूर्वतिर २.४ इन्च र दक्षिणमा १.२ इन्च सरेको पनि देखिएको छ। यो तथ्यांकलाई पनि अहिलेको कम्पनसँग जोडेर हेरिएको छ।
केही वैज्ञानिकले भने समुद्रमा ठूलो भुइँचालो आएको हुन सक्ने र त्यसैको परकम्प हुने अनुमान समेत गरेका छन्। तर कसैले पनि ठूलो भुइँचालो अनुभव नगरेकाले उनीहरूको राय स्वीकार गर्न सकिएको छैन।
यो क्षेत्रमा पछिल्लो समय आएको ठूलो भुइँचालो मे १५ मा हो, जुन ५.८ म्याग्निच्युडको थियो। त्यसपछि कुनै ठूला कम्पन रेकर्ड भएका छैनन्।
अहिले संसारका धेरै मुलुकका वैज्ञानिक, भुइँचालोविद् तथा अनुसन्धानकर्ताहरू यसबारे अध्ययन गरिरहेका छन्। कारण भने बताउन सकेका छैनन्। त्यसैले अब उनीहरूले समुद्रमै सर्भे गर्ने योजना बनाएको नेसनल जोग्राफिकले लेखेको छ।