‘ए’ डिभिजन लिग : सरस्वतीद्वारा ब्रिगेड ब्वाइज पराजित

In खेलकुद
११ मंसिर २०७५, मंगलवार १५:४१

काठमाडौं – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सरस्वती युथ क्लबले ब्रिगेड ब्वाइजलाई २–१ ले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा मंगलबार सम्पन्न पहिलो खेलमा सरस्वतीको जितमा बिनोद केसी र फ्रान्सिसले गोल गरे।

पराजित ब्रिगेडका लागि अब्दु करिमले एक गोल फर्काए। खेल सुरु भएको तेस्रो मिनेटमा नै बिनोद केसीको गोलमा सरस्वतीले अग्रता लिएको थियो। तर, खेलको सातौं मिनेटमा ब्रिगेडका विदेशी खेलाडी अब्दु करिमले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

दुवै टोलीले पहिलो हाफमा एक–एकको बराबरी खेलेपनि ५२ औं मिनेटमा सरस्वतीका विदेशी खेलाडी फ्रान्सिसले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएका थिए। तर, त्यसपछि निर्धारित र इन्जुरी समयमा अन्य गोल नभएपछि ब्रिगेटमाथि २–१ को जित निकाल्दै सरस्वतीले महत्वपूर्ण ३ अंक जोड्यो।

सरस्वतीका सुमन लामा खेलको म्यान अफ दि म्याच घोषित भए। जितसँगै ३ खेलबाट ६ अंक जोडेको सरस्वती तालिकाको सातौ स्थानमा उक्लिएको छ। ३ अंक जोडेको ब्रिगेड ११ औं स्थानमा छ।

सहिद_स्मारक_‘ए’_डिभिजन_लिग

फुटबल

सरस्वती_युथ_क्लब