भारतद्वारा शृंखला बराबर

In खेलकुद
१० मंसिर २०७५, सोमबार ११:३४

सिड्नी — कप्तान विराट कोहलीले अविजित ६१ रन बनाएपछि भारतले अस्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रियमा २ बलअगावै जित हासिल गरेको छ । नतिजालेशृङ्खला १–१ को बराबरीमा टुंगाएको छ । ओपनर रोहित शर्मा र शिखर धवनले ६७ रनको साझेदारीपछि क्रिजमा आएका कोहलीले ४१ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
चार टेस्टकोशृङ्खलाअघि भारतले ट्वान्टी–२० खेल बराबरी गर्न सफल भयो । ब्रिसबेनमा वर्षाले प्रभावित रोमाञ्चक पहिलो खेल अस्ट्रेलियाले ४ रनले जितेको थियो । मेलवर्नको दोस्रो खेल वर्षाले स्थगित भएको थियो ।

‘मलाई लाग्छ समग्रमा आज हामीले राम्रो गर्न सक्यौं,’ कोहलीले भने, ‘जब ओपनिङ ब्याट्सम्यान लयमा आउँछन्, उनीहरूलाई रोक्न मुस्किल हुन्छ । बीचमा केही निराश क्षण पनि रहे, यद्यपि मेरो विचारमा उनीहरूले जे गर्नुपर्ने थियो त्यो गरे ।’

टस हारेर फिल्डिङ गरेको भारतले अस्ट्रेलियालाई ६ विकेट क्षतिमा १ सय ६४ रनमा रोक्यो । भारतका अलराउन्डर क्रुणाल पण्ड्याले ४ विकेट लिए । अस्ट्रेलियाका डी–अक्री सर्टले सर्वाधिक ३३ रन बनाए ।

हारका बावजुद अस्ट्रेलियाली कप्तान एरोन फिन्चले आफ्नो टिममाथि गर्व रहेको बताए । ‘जुन हिसाबबाट हामीले प्रतिस्पर्धा गर्‍यौं, त्यो सानदार थियो,’ उनले भने, ‘अझै पनि सुधार गर्नुपर्ने केही ठाउँ छन् । तर हामी सही दिशामा छौं र आसन्न टेस्टका लागि उत्साहित महसुस गरिरहेका छौं ।’

अस्ट्रेलियाका स्ट्राइक बलर मिचेल स्टार्कले दुई वर्षपछि टी–२० अन्तर्राष्ट्रिय खेलमा पुनरागमन गरे । स्टार्कले ओपनिङ ब्याट्सम्यान रोहित र शिखरलाई समस्यामा पारे । अर्को एन्डबाट बलिङ गरिरहेका नाथान कल्टर नाइलको भने धुलाई गरे ।

नाइलले सुरुआती २ ओभरमा २९ रन खर्चिए । भारतको सुरुआती जोडीले अस्ट्रेलियाका सुरुआती बलर मार्कस स्टोनिसको पहिलो ओभरमा २२ रन जोडेका थिए ।

फिन्चले स्टार्कलाई पुन: बलिङमा ल्याए र २१ बलमा ४१ रन बनाएका शिखरलाई एलबीडब्ल्यू आउट गराए । लगत्तै अर्को ओभरमा एडम जाम्पाले रोहितलाई २३ रनको स्कोरमा पेभेलियन फर्काए ।

जाम्पा र ग्लेन म्याक्सवेलको स्पिन संयोजनले भारतको रनको गति रोकेको थियो । केएल राहुल १४ रनमा र ऋषभ पन्त पहिलो बलमै आउट भएपछि कुनै समय भारतलाई जितका लागि ३६ बलमा ५६ रन आवश्यक थियो ।

कोहली रोकिएनन् । २ छक्का र ४ चौका प्रहार गरी उनले दिनेश कात्तिक (२२ रन) का साथ लक्ष्य पूरा गर्न अहम् भूमिका खेले । अस्ट्रेलियाको एकरूप हुन नसकेको ब्याटिङ प्रदर्शन गत मार्चको बल टेम्पिरिङ प्रकरणदेखि नै एक चिन्ताको विषय रहेको छ ।

सबैभन्दा पहिले फिन्चले नै आफूलाई सुधार गर्नुपर्ने देखिन्छ । जसले सबै फम्र्याटमा गरी पछिल्लो १० इनिङ्समा सर्वाधिक ४१ रन जोडेका छन् । आफ्नो पहिलो ओभरमा उनले खलिल अहमदको बलमा चार चौका प्रहार गरी लयमा फर्किएको संकेत गरेका थिए ।

अर्को एन्डमा सर्टले पनि राम्रो प्रदर्शन गरिरहेका थिए । उनीहरूले ५० रनको साझेदारी पनि पूरा गरे । म्यान अफ द म्याच पाण्ड्याको बलमा टप एज लागेपछि कुलदीप यादवको हातबाट आउट हुँदा फिन्चले २३ बलमा २८ रन बनाए ।