
काठमाडौं – इङ्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेको छ।
शनिबार राति घरेलु मैदान भएको खेलमा युनाइटेडलाई सहज जित दिलाउन एस्ली योङ, जुवान माटा, रोमेलु लुकाकु र मार्कुस रास्फोर्डले गोल गरे। पराजित टोलीका लागि अबौबाकर कामराले सान्तवना गोल फर्काएका थिए। खराब प्रदर्शनबाट गुज्रिरहेको युनाइटेडले फुलह्यामसँग भने राम्रो खेल खेलेको थियो।
१३ औं मिनेटमा योङको गोलमा युनाइटेडले खेलमा अग्रता बनायो। २८ औं मिनेटमा माटाले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए। ४२ औं मिनेटमा लुकाकुले टोलीका लागि तेस्रो गोल गरे। पहिलो हाफमा ३–० ले पछि परेको फुलह्यामका लागि ६७ औं मिनेटमा पेनाल्टीमा कामराले गोल गरे।
६८ औं मिनेटमा जाम्बो दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि फुलह्याम १० खेलाडीमा समेटिएको थियो। ८२ औं मिनेटमा रास्फोर्डले गोल गर्दै युनाइटेडलाई ४–१ को अवस्थामा पुर्याए।
तर, त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि युनाइटेडले सहज जित दर्ता गर्यो। जितसंगै १६ खेलबाट २६ अंक जोडेको युनाइटेड लिगको छैटौं स्थानमा रहेको छ। ९ अंक जोडेको फुलह्याम लिगको पुछारमा छ।