
एजेन्सी। संयुक्त राष्ट्रिसंघका एक अधिकारीले युद्धग्रस्त यमन बालबालिकाकालागि नर्क जस्तै भएको टिप्पणी गरेका छन। यमनमा प्रत्येक वर्ष पाँच हजार बालबालिकाको कुपोषण र त्यससँग सम्बन्धित विमारीका कारण मृत्यु हुने गर्छ। जसको सजिलैसँग उपचार गर्न सकिन्छ। युनिसेफमा दक्षिण एशिया र उत्तर अफ्रिकाको क्षेत्रीय निर्देशक गीर्ट क्याप्लेयरले यो महिनाको अन्तिममा हुने शान्ति वार्तामा सहभागी हुन र युद्ध विराम गर्न आह्वान गरेका छन्।
यमनमा ह्याथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीच युद्ध जारी छ। पत्रकार जमाल खशोज्जीको मृत्युपछि साउदी अरबसँग पश्चिमा मुलुकको समर्थन घट्ने क्रममा छ। साउदीलाई अहिले यमनसँगको युद्धबाट पछि हट्न चर्को दवाब छ। केही समय अगाडि मात्रै संयुक्त राज्य अमेरिका र बेलायतले यमनमा युद्ध विराम गर्न आह्वान गरेका थिए।
गीर्ट क्याप्लेयरले जोर्डनको राजधानी ओमनमा संचारकर्मीसँग कुरा गर्दै यमनको अवस्था निकै जर्जर भएको उल्लेख गरे। उनले बच्चकालागि यमन नर्क जस्तै भएको उल्लेख गरे। युनिसेफका अनुसार यमनका पाँच वर्षभन्दा मुनीका १८ लाख बालबालिका गम्भीर प्रकारको कुपोषणको शिकार भएका छन्। तीमध्ये चार लाख बालबालिकाको अवस्था चिन्ता जनक रहेको छ।
यमनमा प्रत्येक एक वर्षमा ३० हजार बालबालिकाको कुपोषणका कारण मृत्यु हुने गरेको छ। जबकि प्रत्येक दश मिनेटमा कुपोषणका कारण एक जनाको निधन हुने गरेको छ। संयुक्त राष्ट्रसंघले चेतावनी दिँदै यमनमा आपतकालीन खाद्य आपूर्ति निर्भरता आठ लाख मिलियनबाट बढाएर १४ मिलियन बनाउनु पर्ने जनाएको छ। खाद्य पदार्थमा भएको मूल्यबृद्धिका कारण लाखौं मानिस थप भोकमरीमा पर्ने सक्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ।
केही दिन अगाडि भोकमरीका कारण विश्वको ध्यान खिचेकी बालिका अमल हुसेनको निधन भएको छ। भोकमरीका कारण उनी निकै कमजोर भएकी थिइन्। यी बालिकाको फोटो पूरै विश्वमा भाइरल भएको थियो। यमनमा साउदीले गरेको हवाइ आक्रमणका कारण अलमको परिवार तीन वर्ष पहिला आफ्नो घर जोडेर भाग्न विवश भएका थिए। अमल हुसेनकी विमारी आमाले अमलको निधनपछि संचारमाध्यमसँग कुरा गर्दै पेटभरी खाना खान नपाएर आफ्नी छोरीको निधन भएपछि आफ्नो मुटु नै चुँडिएको बताइन्।