
संशोधित कार्यविधिमा पेसी तोक्ने प्रक्रिया र इजलास गठनबारे व्यवस्था गरिएको छ । प्रत्येक दिनका लागि साप्ताहिक र पूरक पेसी सूचीमा समावेश भएका तथा भैपरी आउने मुद्दाको सुनुवाइका लागि एकल, संयुक्त र पूर्ण इजलास गठन गरिन्छन् । गोला तान्नका लागि एकै रूप, रङ, आकार र बनोटका गोटी प्रयोग हुनेछन् । गोलामा वर्णमालाका अक्षर र अंक प्रयोग हुन्छ । अपारदर्शी थैलीमा राखेर न्यायाधीशहरूले वरिष्ठताका आधारमा एक–एक गोटी तान्नुपर्छ । सिसिक्यामेरामा देखिने गरी गोलाको संकेत प्रस्ट रूपमा पढ्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
न्यायाधीशहरूले तानेको गोटीबमोजिम क्रमशः कम्प्युटरमा सफ्टवेयर अद्यावधिक गर्दै इजलास गठन हुनेछन् । क्रमशः पूर्ण, एकल र संयुक्त इजलास गठन हुनेछन् । बृहत् पूर्ण र पूर्ण इजलास गठनका लागि भने अलग्गै गोटी र थैलीको व्यवस्था हुनेछ । पूर्ण इजलास भएको दिनमा त्यसपछि मात्रै क्रमशः एकल र संयुक्त इजलास गठन हुनेछ । अन्य दिनमा संयुक्त इजलास गठनपछि एकल इजलासका लागि गोला तान्ने व्यवस्था छ । यसरी तोकिने पेसीको विवरण बिहान १०:३० सम्म वेबसाइटमा अद्यावधिक भइसक्नेछ ।
गोला प्रणालीमा पुराना मुद्दाको सुनुवाइलाई प्राथमिकतामा राखिएको छ । मुद्दाको प्रकृति, दर्ताको मिति र कार्यबोझका आधारमा मुद्दा शाखाबाट निर्धारित कोटाका आधारमा पेसी तोकिन्छ । सुनुवाइ हुन नसकेका पाँच वर्ष पुराना मुद्दालाई दर्तामितिका आधारमा एक महिनाभित्र पुनः पेसी चढाउनुपर्ने अनिवार्य व्यवस्था कार्यविधिमा छ । साप्ताहिक पेसीको तारेख तोकिएको मुद्दाको विवरणसहितको सूची मंगलबारसम्म तयार गरी मुख्य रजिस्ट्रारलाई बुझाउनुपर्छ ।