649 views 8 secs 0 comments

कुसुन्डा परिवारको बिजोग

In देश, राजनीति, समाज
१८ मंसिर २०७४, सोमबार १२:००

गोरखा : आँबुखैरेनी-गोरखा सडक १३ किलोमिटर पार गरेपछि घुम्ती बजार आउँछ। बजारबाट करिब एक किलोमिटरको दूरीमा ८४ वर्षीया सुमित्रा कुसुन्डाको घर छ। यो जिल्लाकै एक मात्र कुसुन्डा परिवार हो। तथ्यांक विभागका अनुसार देशभर गरी ६० परिवार मात्र कुसुन्डा छन्। सुमित्राको परिवारमा छोरा चेतनारायण, बुहारी कमला, जेठो नाति अनिल, कान्छो अशोक गरी सात सदस्य छन्। अनिलको एक छोरा र अशोककी एक छोरी पनि छन्।

सात वर्षअघि बिहे गरेको अशोक परिवारसहित छुट्टिएका थिए। तर, घर बनाउने जग्गा नपाएपछि उनी घरकै एक कोठा बारेर बसेका छन्। छोरा-बुहारी, नाति-नातिनी बुहारी अनि आफू पनि एउटै कोठाभित्र सुत्नुपर्दा सुमित्रालाई असजिलो लाग्यो। उस्तै असजिलो चेतनारायण र कमलालाई पनि महसुस हुँदै रहेछ। कान्छो छोराका लागि एउटा घरको खाँचो परेको कमला बताउँछिन्।

छोरा-बुहारी, नाति-नातिनी बुहारी सुत्ने कोठामा बसउठ गर्न असजिलो भएपछि सुमित्रा दसैंदेखि छोरीको घर चितवन गइन्। त्यसयता उनी फर्केकी छैनन्। ‘छोरा-बुहारी र हामी बूढाबूढी एउटै कोठामा सुत्नु-बस्नुपर्छ। अरूलाई सुनाउन पनि गाह्रो, बस्न झन् कति गाह्रो होला भन्नु त’, कमला भन्छिन्, ‘यसो छाप्रो हालेर अन्तै बसौं भने बलेनीभन्दा उता आफ्नो जग्गा छैन। भइरहेको घर बनाउने जग्गा पनि अर्काले दिएको हो। आफ्नो नाममा नङमा लाउने माटो पनि छैन।’

 

‘हाम्रो आम्दानी भनेकै सरकारले दिने भत्ता हो। त्यसले परिवार पाल्ने कि जग्गा किन्ने ? कसरी घर बनाएर बस्ने हो ? साह्रै सकस भयो।’
कमला कुसुन्डा, गोरखा

जनता आवास कार्यक्रमअन्तर्गत घर बन्ने भएपछि आठ वर्षअघि स्थानीय दुर्गा पोखरेलले सात आना जग्गा निःशुल्क उपलब्ध गराएकी थिइन्। २०६६ सालमा बनेको साँघुरो घरमा परिवार थपिएपछि बस्न समस्या भएको उनको भनाइ छ। ‘हाम्रो खलक पहिले वनमा बस्ने रहेछ। त्यसैले कमाई खाने जग्गा पनि छैन। दिन-दिनै निमेक गरेर खान्छौं’, उनी भन्छिन्, ‘जग्गा किन्ने पैसा पनि जोहो गर्न सकेको छैन। भुइँचालोको अनुदान लिएर घर बनाऊँ भने पनि जग्गा छैन। यस्तो समस्या सुनाउन कहाँ जाने हो ? यहाँ कोही पनि आउँदैनन्।’

श्रीमान्को निधन भएपछि सुमित्रा २०५१ सालमा दरौंदी खोलापारिको जंगलबाट यहाँ बसोबास गर्न आएकी थिइन्। जंगलबाट आएका कारण आफ्नो जग्गा नभएको कुसुन्डा परिवारको दुखेसो छ। कमलाका श्रीमान् चेतनारायण दिनहुँ निमेक गर्न जान्छन्। एउटा छोरा जिपमा सहचालक छ। अर्को छोरा छुट्टिएको छ। ऊ पनि बसको सहचालक हो। ‘हाम्रो आम्दानी भनेकै सरकारले दिने भत्ता हो। त्यसले परिवार पाल्ने कि जग्गा किन्ने ? कसरी घर बनाएर बस्ने हो ? साह्रै सकस भयो’, उनी भन्छिन्, ‘फेरि वनमा फर्किऊँ पनि भएन, यहाँ बस्न पनि नसकिने भयो।’