896 views 0 secs 0 comments

भित्री अंग सफाइ शरीरको

In बिचार, स्वास्थ्य/जीवनशैली
२४ आश्विन २०७५, बुधबार १२:३६

काठमाडौँ — शरीरको बाहिरी सफाइ नुहाएर गर्छौं । कपडा तथा सवारी साधनको सफाइ धोएर गर्छौं । शरीरको भित्री सफाइ गर्दैनौं । शरीरको समय–समयमा भित्री सफाइ जरुरी हुन्छ । यसलाई ‘डिटोक्सिफिकेसन’ भनिन्छ । यसले धेरै रोगबाट मुक्त हुन सहयोग गर्छ ।हठयोगमा शरीरको शुद्धि गरी साधना तयारीका लागि ६ वटा शोधन कर्म (षट्कर्म) गरिन्छ । शरीरमा सक्रियतासाथ विश्राम प्रदान गर्ने हुनाले यी कर्मले हाम्रा स्वतन्त्र क्रियामा नियन्त्रण गर्छन् । स्वतन्त्र स्नायु प्रणालीलाई सन्तुलित पार्छन् । नसर्ने रोग रोकथाम तथा नियन्त्रणमा यस्ता विधि उपयोगी छन् । चिकित्साका हिसाबले महत्त्वपूर्ण केही विधि निम्न छन् ।

नेति : यो नाक सफा गर्ने विधि हो । जलनेति र सूत्रनेति प्रयोग गरी नाक सफा गर्न सकिन्छ । यसमा निकै सावधानी चाहिन्छ । यसले नाकको एलर्जी, पिनास, माइग्रेन, आँखाका समस्या, दम, अनिद्रामा फाइदा गर्छ ।जलनेति : सहन सकिने मनतातो पानीमा हल्का नुन मिसाई करुवाको सहाराले एउटा नाकको प्वालबाट पानी राखी अर्को नाकबाट निकाल्ने विधिलाई जलनेति भनिन्छ । यसरी पानी निकालेपछि जोड–जोडले सास फ्याँक्नु वा कपालभाँती गर्नुपर्छ । मुख भने खुला राख्नुपर्छ । मुख बन्द गरी जलनेति गरे फोक्सोमा पानी गई निमोनिया हुने खतरा हुन्छ । कान सुन्निएको र नाथ्री फुटेका बेला जलनेति गर्नु हँुदैन ।

सूत्रनेति : यसमा रबरको सानो डोरी वा क्याथेटर नाकको कुनै एक प्वालबाट घुसाई मुखबाट बाहिर निकालेर भित्र–बाहिर चलाउनुपर्छ । अर्को नाकबाट पनि यही क्रम दोहोर्‍याउनुपर्छ । यो जलनेति भन्दा अलिक अप्ठ्यारो भए पनि धेरै उपयोगी छ ।

धौती : पानी मात्रै वा वस्त्र/कपडा खाई पेट सफा गर्ने विधि धौती वा धुने कर्म हो । वस्त्र खाएर उल्टी गर्नेभन्दा पानी खाएर उल्टी गर्ने विधि सहज रूपमा गर्न सकिन्छ । मन तातो पानीमा थोरै नुन मिसाइ पानी तयार गर्नुपर्छ । उक्त पानी टुक्रुक्क भुइँमा बसेर घांँटीसम्म आउनेगरी छिटो–छिटो पिउनुपर्छ । हातका औंलाका सहाराले जिब्रोको पछाडिको भागलाई मसाज गरी खाएको पानी नसकुन्जेल उल्टी गर्नुपर्छ । श्वासनमा २०–३० मिनेट आराम गरी १/२ चम्चा घिउ सहितको जाउलो पेटभरि खान दिनुपर्छ । यो क्रिया गरेको दिन साविकभन्दा बढी पानी पिउनुका साथै माछा, मासु, फास्ट फुड, पेय पदार्थ खानु हँुदैन ।

यो विधि अम्लपित्त, माइग्रेन, अरूचि, मानसिक तनाब, दम, पित्त, व्याधिमा उपयोगी हुन्छ । ढाडका नसा च्यापिएर धेरै दु:खेका, कलेजो सिरोसिस, उच्च रक्तचाप, पेटको रक्तस्राव, आँखाको रक्तस्राव, आँखाको संक्रमण, पेटका शल्यक्रिया गरेकाले यो विधि गर्नु हुँदैन ।

त्राटक : आँखाबाट आँसु आए पनि आँखा पिरो भए पनि एकनासले कुनै बिन्दुमा एकटकसँंग हेरिरहने कर्म त्राटक हो । यसले एकाग्रता र शान्तपन बढाउनुका साथै तनाव, आँखाका रोग, अनिद्रामा समेत फाइदा गर्छ । यो विधि माइग्रेन र क्षारेरोगमा गर्नु हुँदैन ।

नौली : यसमा उठेर सास बाहिर फाल्दै हातलाई घुँडाभन्दा माथि राखेर पेटका मांसपेशीलाई दायाँ–बायाँ वा बीचमा खुम्चाई केही बेर राख्ने गरिन्छ । यो विधिले पेटका समस्यामा फाइदा हुन्छ ।

कपालभाँती : सहज आसनमा बसेर छिटो–छिटो पेटलाई खुम्चाउँदै सास नाकबाट बाहिर ६०–१२० पटकसम्म फालिन्छ । त्यसपछि १/२ मिनेटसम्म आँखा बन्द गरी शान्त बस्नुपर्छ । यो क्रमलाई ३–५ पटकसम्म दोहोर्‍याउनुपर्छ ।

यसबाट मोटोपन, तनाव, चिन्ता, मधुमेह, आलस्य, अरूचि, चिसोपना, रुघा, कफज रोग, अवसाद, पागलपन हट्नुका साथै शरीरमा हल्कापन, स्फुर्ती बढ्छ । यो विधि क्षारेरोग, दमका सुरुको अवस्था, उच्च रक्तचाप, हृदयरोग, ढाडका नसा च्यापिएको अवस्था, पेटका शल्यक्रिया गरे लगत्तैका अवस्थामा गर्नु हुँदैन ।

वस्ति : यसमा पानी अथवा जमिनमा बसी दिसा गर्ने ठाउँबाट पानी अथवा हावा तानी पेटसम्म पुर्‍याउने गरिन्छ । चिकित्साका हिसाबले यो विधि बिरामीमा प्रयोग गर्न गाह्रो हुने भएकाले शंख प्रक्षालन गर्ने गरिन्छ ।

शंख प्रक्षालन : शंखलाई त्यसको मुखबाट पानी हाली पुरै पखालेजस्तो मानिसको मुखबाट पानी हाली गुदबाट निकाल्ने प्रक्रियालाई शंख प्रक्षालन भनिन्छ । यसमा पहिले नुनयुक्त पानी विस्तारै पिलाइन्छ र पेट तन्किने खालका आसन गरी पखाला लगाउने गरिन्छ । जस्तो पानी खायो, त्यस्तै पानी दिसाका रूपमा आउने क्रियालाई पूर्णशंख प्रक्षालन भनिन्छ, जुन साधकका लागिमात्रै उपयोगी हुन्छ । पानी पिएर दिसामात्रै आउने क्रियालाई लघुशंख प्रक्षालन भनिन्छ ।

बिरामीलाई २०–३० मिनेट आराम गराई १/२ चम्चा घिउ सहितको जाउलो पेटभरि खान दिनुपर्छ । यो क्रिया गरेको दिन साविकभन्दा बढी पानी पिउनुका साथै माछा, मासु, फास्ट फुड, पेय पदार्थ खानु हुँदैन । यसले चिन्ता, तनाव, कब्जियत, ढाड दुखाइ, अम्लपित्त, वाथरोग, अरूचि, पेट फुलाइमा फाइदा पुर्‍याउँछ । उच्च रक्तचाप भएका बिरामीलाई त्रिफला पानी वा त्रिवृतसिद्ध मनतातो पानीले शंख प्रक्षालन गराउनुपर्छ । यी विधि पहिलोपटक कुनै योग चिकित्सक वा योग साधकको प्रत्यक्ष निगरानीमा गर्नुपर्छ ।

विनाेद घिमिरे
लेखक राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा कार्यरत छन् ।